अवरुद्ध राजमार्ग चार घण्टापछि खुल्यो 

शनिबार, असार २५, २०७९

तनहुँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । 
बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उहाँले बताउनुभयो । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो । सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको थियो ।  सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए । 

पहिराले मालढुङ्गा–बेनी सडक अवरुद्ध 

कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । 
अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ । 
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार