चन्द्रागिरिमा प्रशोधन नै नगरी खानेपानी वितरण

शुक्रबार, असार २४, २०७९

काठमाडौँ । खानेपानी उपभोक्ता समितिले प्रशोधन नै नगरी खानेपानी वितरण गरेको पाइएको छ ।  चन्द्रागिरि नगरपालिका वडा नं ४ र १४ को समितिले खानेपानी प्रशोधन नै नगरी बाँड्ने गरेको पाइएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पानीको परीक्षण गर्दा प्रशोधन नै नगरी वितरण गर्ने गरेको कार्यालयका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । 
“स्थानीय मुहानको पानी समितिले प्रशोधन नै नगरी वितरण गरेको हामीले पायौँ”, उनले भने, “त्यसरी वितरण गरेको पानीमा जिवाणु भेटिएको छ ।” उनका अनुसार प्रशोधन नै नगरी खानेपानी वितरण गर्दा हैजा देखिएको हो । यसरी वितरण गरिएको चन्द्रागिरिमा रहेको खानेपानीमा इकोलाई र कोलिफर्म जीवाणु फेला परेको छ । हैजा पुष्टि भएको ठाउँमा खानेपानीको परीक्षण गर्दा अधिकांश ठाउँमा मानिसको दिसामा पाइने इकोलाई र कोलिफर्म जीवाणु फेला परेको छ । यो पानी पिउन अयोग्य मानिन्छ । 
बागबजार, डिल्लीबजार, बूढानीलकण्ठको खानेपानीमा इकोलाई र कोलिफर्म, कीर्तिपुरको खानेपानी कोलिफर्म फेला परेको छ । उनका अनुसार टेकु र कुलेश्वरको खानेपानीमा धेरैमा इकोलाई तथा कागेश्वरी मनहराको खानेपानीमा केहीमा इकोलाई र धेरैमा कोलिफर्म जीवाणु देखिएको छ । 
कार्यालय प्रमुख अधिकारीले खानेपानी र ढलको पाइप सँगसँगै हुनाले इकोलाई र कोलिफर्म जीवाणु पाइएको बताए । “वर्षायाममा डुबानको पानीले गर्दा खानेपानी र ढलको पाइप कुनै न कुनै ठाउँमा मिसिने गर्दछ”, उनले भने, “यसरी ढलको पाइपबाट खानेपानीको पाइपमा जीवाणु आउने गरेको छ ।”
खानेपानीको पुरानो पाइप हुनाले पनि ढलको पानी सजिलै खानेपानीको पाइपमा छिर्ने गर्दछ । यसरी खानेपानीको पाइपमा जीवाणु प्रवेश गर्ने र सोही पानी पिउँदा हैजा लाग्ने गरेको छ । अहिलेसम्म २३ जनामा हैजाका बिरामी देखिएका छन् । 
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाव गरेपछि र फोेहर चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनु पर्दछ । 
यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार