नागरिक विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति सांसदहरूको असन्तुष्टि 

शुक्रबार, असार २४, २०७९

काठमाडौँ । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकामा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ । बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त विधेयक फिर्ता लागेको भन्ने प्रश्न गर्दै असन्तुष्टि जनाइन् । 
सांसद भरतकुमार साहले सो विधेयक फिर्तापछि अर्को नयाँ विधेयक चाँडो ल्याएर पारित गराउन माग गरे ।  
शुन्य समयमा पछि प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथि छलफल जारी छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक फिर्ताको प्रस्ताव पेस गरेका थिए भने प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरुले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएका हुन् । 
दुई वर्षअघि प्रतिनिधिसभामा उत्पत्ति भई विचाराधीन रहेको विधेयक फिर्ताको प्रस्तावको विरोधमा सूचना प्रस्तुत गर्दै नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने संवैधानिक व्यवस्थालाई पालना गर्न छिटो विधेयक पारित गर्नुपर्नेमा संसदीय समितिमा भइसकेको छलफल र भएको मेहनतलाई बेवास्ता गरिएकामा आपत्ति जनाए ।
एमालेका सांसद डा. भीमबहादुर रावलले सबै नेपालीले सहजै नागरिकता पाऊन् र कुनै पनि विदेशीले नेपाली नागरिकता नपाऊन् भन्ने मान्यता राखेर संविधानमा नागरिकसम्बन्धी व्यवस्था गरिएको स्मरण गराउँदै विधेयक फिर्ता प्रचलित कानुनी मान्यता विपरीत भएको दाबी गरे । 
एमालेका सांसद शेरबहादुर तामाङले समितिमा छलफल भइसकेको विधेयक पारित नगरेर फिर्ता र नयाँ विधेयक ल्याउने प्रक्रियाले यो संसद्बाट सो विधेयक पारित हुने सम्भवना नभएको टिप्पणी गरे । 
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले विधेयक फिर्ता लिइए पनि चाँडै अर्को विधेयक ल्याउन माग गरे । एमालेका सांसद घनश्याम खतिवडाले जन्मसिद्धका आधारमा नागरिकता पाउन प्रतीक्षारत जनताहरुमा निराशा छाएको बताए । 
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारत सीमा नाकामा कडा सुरक्षा व्यवस्था गर्न र नागरिकता समस्याको समाधान गर्न आग्रह गरे । 
सांसदहरु कृष्णप्रसाद दाहाल, विद्या भट्टराई, विमला विक, हृदयेश त्रिपाठी, बीना श्रेष्ठ, डा वृन्दा पाण्डे लगायतले विधेयक फिर्ता नलिई पूर्ववत् विधेयकलाई पारित गर्न आग्रह गरे । 
शून्य समयमा सांसदहरुले बाढी पहिरो नियन्त्रण र राहत दिइनुपर्ने, विद्यालयका पाठ्यपुस्तक समयमा उपलब्ध हुनुपर्ने र किसानहरुले रासायनिक मल पाउनुपर्ने, कमलबजार विमानस्थल बन्नुपर्ने, हुम्लामा छिटो खाद्यान्न उपलब्ध हुनुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले काठमाडौँको दक्षिणकाली क्षेत्रको सडक सुधार हुनुपर्ने, धरान धनकुटा सडक व्यवस्थित गर्नुपर्ने, विदेशी मुद्राको सञ्चिति वृद्धि गर्नुपर्ने, माथिल्लो अरुणको बाँध जाने बाटो सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
यसअघि शून्य समयमा सांसदहरु भीमसेनदास प्रधान, मीना सुब्बा, मीन विश्वकर्मा, यज्ञबहादुर बोगटी, यशोदा गुरुङ सुवेदी, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट, रेणुका गुरुङले बाढी पहिरो लगायतका विषयमा धारणा राखेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार