पाँचथर फालेलुङ गाउँपालिका– ७ बिदिन पहिरोले घर पुर्‍यो 

बेपत्ता भएकामध्ये घरमुली रूपलाल मृत भेटिए
शनिबार, असार १८, २०७९

काठमाडौं । पाँचथरमा शुक्रबार राति गएको पहिरोमा परी बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा भेटिएका छन् । अविरल वर्षासँगै पहिरो गएर पाँचथरको फालेलुङ गाउँपालिका–७ बिहीदिनमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका थिए । बेपत्तामध्ये घरमुली रूपलाल मगरको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताए ।
प्रहरीले बाँकीको खोजिकार्य जारी राखेको छ । ‘हामी घटनास्थलमै छौँ । एकजना मृत अवस्थामा भेटिनुभएको हो । बाँकीको द्रुत गतिमा खोजी भइरहेको छ,’ उनले भने । 
शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका थिए । 
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पुगिसकेको छ । यसअघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो।
रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 
घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार