कपिलवस्तुका तीन साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन

शुक्रबार, असार १७, २०७९

चन्द्रौटा ।  कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् । उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका  र विजयनगर गाउँपालिकामा वृक्षरोपणका लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरिरहेको बताए ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई ध्यानमा राखी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गणेश तिवारीले बताए । बिरुवाको मागसहित निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनमा वितरण सुरु गरिने तिवारीले बताए ।
कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्रमा विभिन्न नर्सरीमा बिरुवा उत्पादन गरेको सहायक वन अधिकृत एजाज अन्सारीले बताए । यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायत बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गर्ने तयारीमा रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताए । 
डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ  । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने  डिभिजन वन कार्यालय योजना शाखाका अधिकृत गणेश चौधरीले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार