गोदावरी नगरभित्रका माध्यमिक विद्यालयलाई अनुदान 

शिक्षित बेरोजगार पारिश्रमिकसहित स्वयंसेवक शिक्षक 
सोमबार, असार १३, २०७९

ललितपुर  ।  गोदावरी नगरपालिकाले नगरभित्रका स्नातक र स्नातकोत्तर गरेका शिक्षित बिरोजगार युवालाई स्वयंसेवक शिक्षक बनाउने भएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आर्थिक वर्ष ०७९ ÷०८० मा नगरभित्रका ती शिक्षितलाई सामुदायिक विद्यालयहरुमा निश्चित पारिश्रमिक सहित स्वयंसेवकको जिम्मेवारी दिने बताए । उनले भने, ‘अबको आर्थिक वर्षमा ५० जनालाई स्वयंसेवक शिक्षकको जिम्मेवारी दिइनेछ । ’ यसैगरी गोदावरी नगरपालिकाभित्र स्थायी बसोबास गर्ने दलित तथा विपन्न प्रत्येक वडाबाट दलित तथा विपन्न एक जना विद्यार्थीलाई एमबिबिएस र इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने आव ०७९ ÷०८०को नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले आव ०७९ ÷०८०को बजेटमा शिक्षा क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेको छ  ।   

नीति था कार्यक्रममा नगरपालिका भित्रका महत्वपूर्ण सम्पदा, संस्कृति तथा धार्मिक तथा पर्यटकीय स्थलहरुको परिचयलाई पाठ्यक्रममा समावेश गरिने उल्लेख गरिएको छ । विद्यावारिधि गर्ने नगरभित्र स्थायी बसोबास गर्नेलाई जनही २५ हजार नगद पुरस्कार सहित सम्मान गरिने नगरप्रमुखले बताए । उनले भने,‘आगामी आर्थिक वर्षमा शिक्षालाई प्राथमिकतामा राखेका छौं ।’ नगरप्रमुख महर्जनले पढाउने ठाउँको पूर्वाधार, पढाउने व्यक्तिको क्षमता विकास  र पढ्ने व्यक्तिलाई हौसला प्रदान गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगरभित्र संचालित माध्यमिक विद्यालयहरुलाई अनुदान दिने भएको छ । नगरपालिकाले यस अघि नगरभित्र संचालित कलेजहरुलाई अनुदान दिदैं आएको थियो । नगरपालिकाभित्र निर्माण सुरु भएको प्राविधिक कलेजको निर्माणलाई तिव्रता दिने बताए ।
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार