निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न रौतहटका स्थानीय तहका प्रमुखहरूसँगआग्रह

आइतबार, असार १२, २०७९

 

बारा  । निजगढ सार्वजनिक सरोकार समितिले रौतहटको विभिन्न पालिकाका प्रमुखलाई भेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठ नेतृत्वमा गएको टोलीले विमानस्थल निर्माणको लागि विशेष प्रस्ताव पारित गर्न कटहरिया, गुजरा, देवाही गोनाह, वृन्दावन, गढीमाई र मौलापुर नगरपालिकाका प्रमुख र उपपप्रमुखलाई भेटेर आग्रह गरेको हो । 

समितिले यसअघि बाराको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टो, पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवाल र परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेललाई कार्यालयमा भेटेर आग्रहपत्र बुझाएको थियाे । आग्रहपत्र बुझ्दै बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकर अली भुट्टोले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको फैसला खारेज हुनुपर्ने र निजगढमा विमानस्थल निर्माण हुनुपर्ने बताए ।

यसैगरी बाराकै पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले अदालतको निर्णय पुनरावलोकन गरिनु पर्ने बताए । आग्रह पत्र बुझाउने टोलीमा समितिका सदस्य विनोद भारती, टेकबहादुर भण्डारी, गोकुल घोरसाइने, इन्दिप कोइराला, सुरेन्द्र जैसवाल, दीपक सापकोटा र निर्मल खडकालगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार