सप्तकोसीमा डुङ्गा दुर्घटना हुँदा एक बेपत्ता

शनिबार, असार ११, २०७९

इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा आज डुङ्गा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ । चार जना युवा डुङ्गामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकराम बस्नेत र नितेश बस्नेतलाई सकुसल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका विष्टको खोजी भइरहेको छ । गोताखोर टोली, प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको छ । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन् । 

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो । गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । 

ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कोहलपुरतर्फ आइरहेको ना५ख ४२०४ नंको ट्रकले भे११प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते भएका हुन् । ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार