पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेल १६३ रुपैयाँ
शनिबार, असार ११, २०७९

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।  उनका अनुसार अब पेट्रोल १७९ रुपैयाँ प्रतिलिटर हुनेछ ।  त्यस्तै डिजेल १६३ रुपैयाँमा खरिद गर्न पाइने छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । मन्त्रिपरिषद्को निर्णयलगत्तै मन्त्री बडूले पत्रकार सम्मेलन गरी जानकारी दिँदै भनmे, “यो आजैको मन्त्रिपरिषद् बैठकको निर्णय हो । सुझावका आधारमा बैठकले निर्णय गरेको हो ।” 
उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले जनालाई मर्का परेको भन्दै थोरै भए पनि राहत हुनेगरी मूल्य घटाइएको बताए । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएर भए पनि जनतालाई राहत दिनुपर्छ भन्ने हेतुले मूल्य घटाइएको उनले उल्लेख गरे ।  “यसले समग्र समाधान त हैन तर, तत्काल जनताले भोगेको समस्यालाई केही राहत दिन्छ भन्ने सरकार र मन्त्रालयको विश्वास छ”, उनले भने । 

बजार अनुगमनलाई प्रभावकारी बनाइने 

सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र खाद्यवस्तुको अभाव हुन नदिन प्रभावकारी अनुगमन गर्ने भएको छ ।
उद्योगमन्त्री बडूले सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाई मूल्य नियन्त्रण गरिने विश्वास व्यक्त गरे । 
बजारमा सबै उपभोग्य वस्तुमाथि भइरहेको मूल्य घटाई व्यवसायीले जनता उपभोक्तालाई राहत हुनेगरी काम गर्न उनले आग्रह गरे । 
मन्त्री बडूले उपभोग्य वस्तुमाथि कानूनविपरीत मूल्यवृद्धि गरेको पाइएमा कारवाहीको दायरामा ल्याइने भन्दै यस कार्यमा सञ्चारमाध्यम र उपभोक्ताले सहयोग गर्नुपर्ने धारणा राखे । 
अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि बढिरहेकाले त्यसैको प्रभावस्वरुप बजारमा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको विषयप्रति सरकार गम्भीर र संवेदनशील छ । सोही विषयलाई मध्यनजर गर्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनतालाई असर पुरयाएकोले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए। 
पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहान सत्ता गठबन्धनका शीर्षस्त नेताहरुको बैठक भएको थियो । उक्त बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल आयल निगमका उच्च पदाधिकारीको उपस्थिति थियो । उक्त बैठकले वर्तमान अवस्थामा जनतालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य घटाउने सुझाव दिएअनुरुप मूल्य समायोजन गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवाले तत्कालका लागि जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दिनुभएको निर्देशनबमोजिम मूल्य घटाइएको मन्त्री बडूले बताए । 

सरकारी कार्यालयमा विद्युतीय सवारी

पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय चुल्हो र विद्युतीय सवारीसाधनमा प्रोत्साहन गरिने मन्त्री बडूले जानकारी दिए । बजेटमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्न राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको सिफारिसअनुरुप कार्यान्वयन गरिनेछ । 
सरकारी कार्यालयमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, पुरानालाई विद्युतीयमा रुपान्तरण गर्ने तथा ठूला सवारीसाधनलाई विद्युतीय रुपान्तरण गर्ने नीतिगत निर्णय गरिनेछ । पेट्रोलियम पदार्थको खपत कम गर्न अन्य मुलुकको असल अभ्यासलाई पनि अध्ययन गरेर विज्ञसँगको परामर्शपछि निर्णय लिने र हालको निगमको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पनि कार्यदलले सुझाव दिएपछि कार्यान्वयनमा लगिने मन्त्री बडूले जानकारी दिए ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार