हेटौंडामा असार ११ बाट राष्ट्रपति रनिङ शिल्ड

मंगलबार, जेठ ३१, २०७९
Global Ime Bank

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकामा असार ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्नेछन् ।

स्किब्स बास्केटबलमा ५२ टिम

स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइजमा होप भ्याली, जुनियर ब्वाइजमा एन्जल्स हार्ट र गल्र्समा निम्स डिफेन्डिङ च्याम्पियन हुन् ।

स्टाफको विधा पहिलो पटक समावेश गरिएको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका  छन् । यो स्पर्धाका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन ।

पत्रकार सम्मेलनमा स्किब्सका इसीए को–ओर्डिनेटर सागर शर्मा, एकेडेमिक को–ओर्डिनेटर आदर्श राईले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । तीनदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आफ्नै कोर्टमा हुने छ ।

एचएचसीए र भ्याली पब्लिक फाइनलमा

एचएचसीए र भ्याली पब्लिक पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

एचएचसीएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित गर्‍यो । एचएचसीएका सन्तोष शाहीले १५ अंक जोडे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५–२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे ।

जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी ९इबीए० र एन्जल्स हार्टले उपाधि भिडन्त पक्का गरे । इबीएले ग्रिनल्यान्डमाथि २२–१० को जित दर्ता गर्‍यो । इबीएका एलेक्स राईले १० अंक जोडे । एन्जल्स हार्टले स्काइलार्कलाई १५–८ ले पाखा लगायो । एन्जल्स हार्टका प्रतीक कँडेलले ८ अंक बटुले ।

सिनियर गल्र्समा पनि भ्याली पब्लिक उपाधिनजिक पुगेको छ । भ्याली पब्लिकले एचएचसीएलाई ३१–८ ले सहजै पन्छ्याउदै ग्रिनल्यान्डसंग फाइनल भेट पक्का गर्‍यो । ग्रिनल्यान्डकी लोरिशा गौचनले १४ स्कोर गरिन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार