विपद्का घटनाले दुई महिनामा लियो ६५ जनाको ज्यान, ५१ करोडभन्दा बढीको आर्थिक क्षति 

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं । पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि  जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् ।  पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।  

पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् ।  दुई महिनामा विपद्का घटनाबाट ८९९ परिवार प्रभावित भएका छन् । विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । 

वैशाख र जेठमा विपद्का घटनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ । 

सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जंगल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार