कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर गणना सुरु

शुक्रबार, जेठ २७, २०७९

फुङ्लिङ । ताप्लेजुङको कञ्चनजंघा हिमालको फेदीमा हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको खोजी गर्न थालिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषको सहयोगमा गत हप्तादेखि नाउर गणना कार्य थालिएको हो ।
कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरणको अध्ययन अवलोकन गर्न चार वटा क्षेत्रमा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान तथा चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लकमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको चेम्जोङले बताए ।

संरक्षण क्षेत्रका चार ब्लकमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ । नाउर र हिउँ चितुवा लागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई दिइएको घुन्सा ब्लक हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए। वन्यजन्तुबाट घरपालुवा जनवाहरुमा क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको शेर्पाले बताए ।
वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदाधिकारीहरु नाउर गणनामा परिचालन भएका छन् । ब्लक विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङ्कन गरिएको छ । त्यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए ।
समुन्द्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने वन्यजन्तु नाउरको हालको अवस्था र नाउरको गणना कार्य भइरहेको व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । नाउर गणनाको विवरण आउने भने केही समय लाग्ने कार्यालयले जनाएको छ ।

नाउरको सङ्ख्या बढ्दै
विसं २०७३ मा दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद्को तथ्याङ्कले जनाएको छ । विसं २०७७ को नाउर गणनामा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा समुद्र सतहदेखि तीन हजार ५०० मिटरदेखि माथिका स्थानमा नाउर पाइने गरेको उल्लेख छ । तीन ब्लक क्षेत्रमा नाउर गणना गर्दा एक हजार ४२१ वटा रहेको संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी तथा रेन्जर धर्मेन्द्र थापाले बताउनुभयो । कोभिड–१९को कारणले ओलाङचुङगोला ब्लक क्षेत्रमा भने गत वर्ष नाउर गणना हुन सकेन ।
घुन्सा खम्बाछेन ब्लक क्षेत्रमा ६४२ वटा नाउर रहेको गणनाको तथ्याङ्कमा छ । याङमा ब्लक क्षेत्रमा ५३२ वटा र रामजेल ब्लक क्षेत्रमा २४७ वटा नाउर रहेको परिषद्को कार्यालयले जनाएको छ । पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ । ४९५ वटा पोथी तथा ८१६ वटा भाले रहेको छ । ८० वटा बच्चा रहेको छ । २७ वटा नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका छन् । २०८ वटा वयस्क भाले, २०७ वटा नाउर तरुण तथा २०६ वटा नाउर किशोर अवस्थाको रहेको तथ्याङ्कले जनाएको छ । त्यस्तै १९८ वटा अर्धवयस्क उमेरका छन् ।
कञ्चनजङ्घा क्षेत्रमा घुन्सादेखि पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजङ्घा हिमालको पूर्वी बेस क्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङ चुङ्गोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलादेखि मौवाटार हुँदै चीनको तीब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यवस्थापन परिषदले विगत देखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए ।
समुद्र सतहदेखि तीन हजार ८०० मिटरको उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गरिदै आएको छ । अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा क्षेत्रले जनाएको छ
संरक्षण क्षेत्रमा विसं २०६० मा १२ वटा हिउँ चितुवा रहेको अनुमान गरिएकोमा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान रहेको छ । हिउँ चितुवाको मलमुत्र परीक्षणका आधारमा पनि त्यसक्षेत्रमा उक्त सङख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार