‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

फोहर व्यवस्थापनलाई महानगरको टाउकामा थोपरेर सरकार दायित्वबाट पन्छिन पाउँदैन : भीम रावल 
बिहीबार, जेठ २६, २०७९

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।  उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट पन्छिन नहुने बताए। उनले जनताको स्वास्थ्यमा खेलवाड नगर्न पनि अनुरोध गरे । सांसद रावलले  काठमाडौँको फोहर सफा गरेर देखाउन सरकारको ध्यानाकर्षण गराए।
उनले अर्थ मन्त्रालयसँगको शीर्षकमाथि प्रश्न राख्दै संसारमा असफल भइसकेको नवउदारवाद र पूँजीकरणको बाटोमा राज्य हिँडिरहेको भन्दै आलोचना गरे । 
पूर्वमन्त्री रावलले व्यापारघाटा उच्च रहेको, चालु खातामा घाटा वृद्धि भइरहेको, भुक्तानी असन्तुलन तीव्र रहेको र बाह्य ऋण बढ्दो क्रममा रहेको तथा नेपालीका टाउकामा रु ६० हजारभन्दा बढी ऋण भइसकेको अवस्थामा नेपालको अर्थतन्त्रलाई सरकारले कसरी व्यवस्थापन गर्छ भन्दै जवाफ मागे । 
रक्षा मन्त्रालयसँगको विषयमा प्रश्न राख्दै उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सरकार मौन बस्नुले स्वाधिनता र स्वतन्त्रताको सुरक्षा नहुने बताए । उनले त्रिभुवन विश्वविद्यालयमा ताला लागेको १३९ दिन हँुदासमेत कुनै पहलकदमी नहुने मुलुकमा उत्कृष्ट विश्वविद्यालय हुन्छ भनेर विश्वास गर्न नसकिने बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार