सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् । लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए । बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् भने गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छन् । काठमाडौं–पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढीपहिराले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताए। त्यस्तै बाढी र पहिराका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका–२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए। बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटीय क्षेत्रका घरसमेत जोखिममा परेको उनले बताए । बाढीले महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उनले बताए। रातभर स्थानीयवासी र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरेको उनको भनाइ छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।