जिसस गुल्मीको निर्वाचन असार १ गते

बिहीबार, जेठ २६, २०७९

तम्घास । जिल्ला समन्वय समिति (जिसस) गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते निर्वाचन हुने गरी जिसस निर्वाचन–२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार बुधबार आयोगले यही जेठ २४ मतदाताको नामावली सार्वजनिक गरेको छ । त्यस्तै  २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने एवं २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।
जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।
कार्यालयले मतदानका लागि २४ मतदाताको नाम सार्वजनिक गरेको छ । जसअनुसार जिल्ला १२ पालिकाका २४ मतदाता छन् । स्थानीय तहका प्रमुख–अध्यक्ष एवं उपप्रमुख–उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनका लागि मतदाता हुन पाउँछन् । 
समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा ९एमाले०का १०–१० एवं नेकपा (माओवादी केन्द्र) का चार मतदाता छन् । कालीगण्डकीमा माओवादी केन्द्र, एमाले तालमेलबाट ‘सूर्य’ चिह्नबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले माओवादी केन्द्रले आफ्नो पाँच र एमालेको नौ मत रहेको दाबी गरेको छ । 
पाँचदलीय गठबन्धनको तर्फबाट कांग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ । गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार भने अझै टुङ्गो लागेको छैन । शुक्रबार बस्ने बैठकले उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए । एमालेका सचिव गणेश श्रीपालीले भने पार्टीको तर्फबाट प्रमुख–उपप्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय नै टुङ्गो नलागेकाले उम्मेदवार नटुङ्ग्याएको प्रतिक्रिया दिए। गत वैशाख ३० को निर्वाचनमा कालीगण्डकी र धुर्कोट गाउँपालिकामा माओवादी–एमाले तालमेल भएको थियो भने अन्य १० पालिकामा पाँचदलीय गठबन्धन भएको थियो । 

जिल्ला समन्वय समिति चितवनको निर्वाचन जेठ ३१ गते
जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सूचना जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । जिल्लाका सात पालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएपछि जिल्ला समन्वय समितिको निर्वाचनका लागि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार जेठ २८ गते मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्ने, संशोधित मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने रहेको छ । यस्तै २९ गते मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने उल्लेख छ । 

जेठ ३० गते उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । जेठ ३१ गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदानको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त समितिको निर्वाचनको सबै काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको प्रमुख र उपप्रमुखसहित नौ पदका लागि निर्वाचन हुन लागेको हो । सात पालिकाबाट १४ प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । तीमध्ये सात जना पाँचदलीय गठवन्धनका र  सात जना एमालेबाट निर्वाचित भएका हुन् । 

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध
महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । 
जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध  निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् । 

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध
जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् । 
बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका हुन् । जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार