स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

मंगलबार, जेठ २४, २०७९

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् । 
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा उक्त रकम भेटिएको हो ।
प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी रेहकी छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  
उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनले २०७६ फागुन ६ गते  उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना सुनाएको थियो । 
लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । 
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको हो । 
उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो । 
उनीहरूलाई फैसाला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।  

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार