ललितपुर महानगरको नगरकार्यपालिकाले पायो पूर्णता

मंगलबार, जेठ १७, २०७९

ललितपुर महानगरको नगरकार्यपालिकाले पायो पूर्णता

ललितपुर, १७ जेठ । ललितपुर महानगरको नगरकार्यपालिकाले पूर्णता पाएको छ। नगर कार्यपालिका निर्वाचनबाट ८ सदस्य चुनिएसँगै कार्यपालिका संयन्त्रले पूर्णता पाएको हो । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा सोमबार निर्वाचन भएको थियो । नगरप्रमुख,उपप्रमुख र वडाअध्यक्षहरू स्वतः कार्यपालिकाको सदस्य रहनेमा आठजना निर्वाचनको माध्यमबाट पूर्ति गर्नुपर्ने प्रावधान छ ।
संविधानतः निर्वाचित जनप्रतिनिधिद्वारा नगर कार्यपालिका सदस्यमा महिला पाँच जना र दलित र अल्पसंख्यकबाट ३ जना निर्वाचनद्धारा चुन्नुपर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचनको मतपरिणाम आएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गराउनु पर्ने व्यवस्था अनुरुप यो भएको हो । 
महानगरको निर्वाचनको अन्तिम मतपरिणाम जेठ ११ गते बुधबार घोषणा गरिएको थियो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा नं. ६ का उमा श्रेष्ठ ९बज्राचार्य०, वडा नं ९ का सानु महर्जन (अवाले), वडा नं. १० का लक्ष्मी शर्मा (दाहाल) र वडा नं. १६ का बबिता श्रेष्ठ छन् । 
नेकपा माओवादी केन्द्रबाट वडा नं २८ बाट कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन निर्वाचित भएकी छिन् । दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट विकासकुमार रोक्का, माओवादी केन्द्रबाट रामशरण सार्की पहेली र एकीकृत समाजवादीबाट सानुकाजी तोलाङे रहेका छन् । कुल मतदाता १ सय ३७ जना जनप्रतिनिधिहरू रहेकोमा निर्वाचित हुन कम्तीमा ६९ मत ल्याउनुपर्ने थियो । नेकपा एमालेबाट दलित तथा अल्पसंख्यकमा कृष्णकुमार नेपाली, नातीबाबु सूचिकार र मेनका च्यामेले उम्मेदवारी दिएकी थिइन् भने महिलामा आपुलु शाक्य, रुकमणी महर्जन, संगीता अछामी, सुकुमाया लामा र सुलोचना महर्जनले उम्मेदवारी दिएका थिए । 
गत वैशाख ३० गते शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर र ११ वडाअध्यक्षसहित ५६ जना, एमालेबाट उपमेयर र ११ वडाअध्यक्ष सहित ५६, माओवादी केन्द्रबाट ३ वडाअध्यक्षसहित ९, स्वतन्त्रबाट २ वडाअध्यक्ष र राप्रपाबाट २ जना सदस्य निर्वाचित भएका थिए । स्वतन्त्रबाट निर्वाचित २ जना वडाअध्यक्षसहित तीनवटै दलबाट निर्वाचित जनप्रतिनिधिले गठबन्धनको मर्मअनुरूप मतदान गरेका थिए । संविधानमा व्यवस्था भए अनुसार नगरको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहेको छ । नगरपालिकाको कार्यपालिका बैठकमा अब कांग्रेसबाट १७, एमालेबाट १२, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ३ र स्वतन्त्रबाट २ जना हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार