तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो 

मंगलबार, जेठ १७, २०७९

काठमाडौं, १७ जेठ  ।  तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । 

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो । दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेबाट आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइएको थियो । त्यहाँबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालकदलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार