सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ (क्यान)ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरे । नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस गएको हो ।
धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आज सम्पन्न भएको फाइनल खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले रु एक लाखमा चित्त बुझायो । टस जितेर ब्याटिङ थालेको महेन्द्रनगर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रन बनाएको थियो । एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८.३ ओभरमा ११८ रनमात्रै बनाउन सक्यो । उसका लागि दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले टिमलाई १३ र सन्दीप खत्रीले १२ रनको योगदान दिए । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले महत्वपूर्ण चार विकेट लिए । हेमन्त धामी र विपिन धामीले समान दुई–दुई तथा राहुल भण्डारी र विकास आग्रीले समान एक–एक विकेट लिए । त्यसअघि महेन्द्रनगरका लागि विशाल ऐरले ३३ र सन्तोष भट्टले २१ रन बनाए । महेन्द्रनगरका राहुल भण्डारी, हेमन्तधामी र विकास आग्रीले समान १३–१३ रन बनाए । बलिङतर्फ लिटल फ्लावरका कृष्ण कार्कीले तीन, दीपक बोहरा र कुशल रुपाखेतीले दुई–दुई तथा प्रकाश जैसी र सन्दीप खत्रीले समान एक–एक विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ सन्तोष भट्ट घोषित भए । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी लिटल फ्लावरका दीपक बोहरा घोषित भए । उनले रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल, उत्कृष्ट बलर घोषित भएका धनगढी क्रिकेट एकेडेमीका हिक्मत महरा प्रतियोगिताका उदीयमान खेलाडीसमेत बन्न सफल भए । उनीहरूले जनही रु सात हजार ५०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । यही जेठ ६ गतेदेखि सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबले सहभागिता जनाएको थियो ।
खुला दौड प्रतियोगिताको उपाधि पाण्डे र चौधरीलाई
गणतन्त्र दिवसका अवसरमा बुटवलमा सम्पन्न खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगङ्गा बहुमुखी क्याम्पसका अजय पाण्डेले हात पारेका छन् । पाण्डेले १६ मिनेट ३० सेकेण्डमा पाँच किलोमिटरको दूरी पार गरे । शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा आज भएको पाँच किलोमिटर खुला दौड प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालयका प्रशान्त थापा दोस्रो र कालिका मानविज्ञानका राजन बलाल थापा तेस्रो भए । प्रशान्तले सो दूरी १७ मिनेट ४२ सेकेण्डमा र राजनले १८ मिनेट १२ सेकेण्डमा दूरी पार गरे । त्यसैगरी महिलातर्फ घोराहीकी अनिषा चौधरी प्रथम भए । उहाँले २२ मिनेट २७ सेकेण्डमा दूरी पार गरे । प्रतियोगितामा कालिकाकी अञ्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र कालिकाकै सञ्जना अधिकारी ३० मिनेटमा दूरी पार गर्दै तेस्रो भइन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु १० हजार, रु आठ हजार र रु पाँच हजारसहित प्रमाणपत्रबाट आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायत एक सय बढी खेलाडी सहभागी थिए ।