राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

शुक्रबार, जेठ १३, २०७९

 

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए  । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ समेत दिएका   थिए  । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । 

सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पस्टीकरण माग  गरेका थिए   । स्पस्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाए  । 

मन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने कुरा अन्तर्राष्ट्रिय बजारले प्रभावित पार्ने हुँदा त्यसमा सरकारको खासै नियन्त्रण नरहने स्पष्ट पारे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भने सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अझैसम्म पूर्ण पाठ प्राप्त भइनसकेकाले थप कुरा भन्न नसक्ने स्पष्ट पारे  । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको  नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको थियो । बैठकको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले यही जेठ १५ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक बजेट प्रस्तुत हुनेहुँदा सांसदहरुलाई १५ मिनेट अघि नै आशनग्रहण गरिसक्न निर्देशन दिएका  थिए  । राष्ट्रियसभाको अर्को वैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ ।  रासस 
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार