काठमाडौंंका मतदातालाई सुनिताले दिइन् धन्यवाद 

भन्छिन् ‘तपाईंहरुले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रुपमा लिएकी छु।’ 
शुक्रबार, जेठ १३, २०७९

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकामा ‘पपुलर भोट’सहित उपमेयर पदमा निर्वाचित एमालेकी उम्मेदवार सुनिता डंगोलले  मतदाताको विश्वासलाई इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्ने प्रतिवद्धता जनाएकी छन् । 
शुक्रबार काठमाडौं महानगर पालिकाको मत परिणाम सार्वजनिक भएपछि मतदातालाई धन्यावाद दिँदै उनले भनेकी छन्,‘मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईंहरुले म माथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु । तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठभई पूरागर्न लागि पर्नेछु ।’ 
उनले अगाडि भनेकी छन्, ‘युवाप्रति अथाह भरोसा गरेर काठमाडौँ जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ । त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु।’ 

‘मत परिणाम प्राप्त भएसँगै जित–हारको मनोविज्ञानलाई त्यहि अन्त्य गर्न म यहि अपिल मार्फत सबैमा आग्रह गर्दछु उनले भनेकी छिन, ‘जित–हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’ 
निर्वाचित सवै जनप्रतिनिधिहरु पनि तत् अनुरुप अघि बढौं भन्ने पनि अनुरोध गर्न चाहन्छु उनले भनेकी छन्, ‘काठमाडौँको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन । र निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सवैले सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँचिकै स्वच्छ, सुन्दर, जीवन्त, व्यवस्थित र सांकृतिक नगरका रुपमा थप विकास गर्न दत्तचित्त भई लागि परौं भन्ने पनि आह्वान गर्न चाहन्छु।’ 

‘काठमाडौँ महानगरलाई  सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनु भएको छ । हो, म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईँहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरुले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रुपमा लिएकी छु । 
उपमेयरमा निर्वाचित भएसँगै मेरो विपक्षमा मतदान गर्नुहुने मतदाताहरुको समेत सम्मान गर्दै तपाईँहरुले गरेको विश्वास र भरोसालाई अधुरो हुन नदिन म मेरो कार्यकाल भरी मेरो योग्यता, क्षमता र बर्कतले भ्यायसम्म काठमाडौँ महानगरवासीको साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण व्यक्त गर्न चाहन्छु।’ उनले भनेकी छन् ।  
राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरुको मनोविज्ञानले पनि आशाको दियो बाल्दै हामी जस्ता युवामाथि भरोसा गर्नुलाई मैले थप चुनौतिका रुपमा लिएकी छु । अहिले नगरे कहिले गर्ने ? युवाहरुले नगरे कस्ले गर्ने ? भन्ने मनोविज्ञान पनि यो निर्वाचनमा प्रखर बनेको अनुभूति मैले गरेकी छु उनले भनेकी छन्, ‘त्यसैले युवाहरुको त्यो मनोभावनालाई समेत प्रतिनिधित्व गर्दै उहाँहरुको आशाको दियो मर्न नदिने प्रण गर्न चाहन्छु । तपाईँहरुको साथ, सहयोग र समर्थन भएन भने मेरा सपनाहरु सबैका साझा सपना बन्न सक्दैन् अनि ती सपना आफैँ विलय भएर जानेछन् । त्यसैले काठमाडौँ बनाउने सपना सबैको साझा बनाउन तपाईंहरु सबैको सहयोगको अपेक्षा मैले गरेकी छु ।’ 
‘काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर, ३२ वटै वडाबाट विजयी हुनुभएका सम्पूर्ण वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ उनले भनेकी छन्, ‘निर्वाचन प्रक्रियामा सहभागी हुने मतदाताहरु, यहाँका स्थानीय आदिवासीहरु, मतदान सम्पन्न भएपछि अहोरात्र खटेर मतगणना कार्यलाई सहज बनाउन सकारात्मक भूमिका खेल्नुहुने निर्वाचन अधिकृत, अन्य कर्मचारीहरु, मतदान कार्यमा सहभागी सम्पूर्ण व्यक्तित्वहरु, सुरक्षाकर्मी मित्रहरु, सञ्चारकर्मी मित्रहरु, स्वयँ सेवकहरु, मेरो जितका लागि प्रत्यक्ष–परोक्ष रुपमा खट्नु भएका सम्पूर्ण महानुभावहरु र सुभेच्छुकहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’

‘साँस्कृतिक सहरको परिचय बनाएको यो काठमाडौँ महानगरपालिकामा सवै जिल्लाका नागरिक बसोवास गर्ने भएकाले पनि अन्य पालिकाको तुलनामा यो पालिका थप विशिष्ट छ । हो, मैले यहि विशिष्ट पहिचान बनाएको महानगर ‘काठमाडौँ महानगरपालिका’बाट उपमेयर पदको उम्मेदवार बन्ने सुनौलो अवसर प्राप्त गरेकी थिएँ । पार्टी र संगठनमा लामो योगदान गर्नुभएका, काठमाडौँको थप विकास र समृद्धिको आकाक्षां राख्नु भएका, यस सहरलाई सांस्कृतिक सहरका रुपमा विकास भएको हेर्न चाहनु भएका, अनुभवी र अग्रज व्यक्तित्वहरुले समेत मेरो उम्मेदवारीलाई सहजरुपमा स्वीकार गर्दै मलाई जितका लागि दिएको हौसला र प्रेरणालाई मैले कृतज्ञताका साथ ग्रहण गरेकी छु’ उनले भनेकी छन् ।    

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार