ललितपुर महानगरमा एमाले–काँग्रेसका वराबर जनप्रनिधि 

प्रमुखमा विजयी चिरीबाबुको दोस्रो कार्याकाल आजैदेखि सुरु 
बुधबार, जेठ ११, २०७९

ललितपुर, ११ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेपाली कांग्रेसका चिरीबाबु महर्जनले आजैदेखि महानगरको काम सुरु गरेका छन् । जिल्ला निर्वाचनको कार्यालयले बुधबार बिहान प्रमुखसहित निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेसँगै महानगर प्रमुख चिरीबाबुले अपराह्न पदभार ग्रहण गरेका हुन् । 
प्रमुखमा निर्वाचित चिरीबाबुले ४२ हजार ७२२ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत मात्रै पाए । त्यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यले २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । 
महानगरका २९ वडामध्ये कांग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) तीन,  नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविन व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १४ मा अमृतजङ्ग महत, १६ मा निर्मलरत्न शाक्य, २० मा चन्द्र महर्जन र वडा नं २८ मा गणेशकुमार महर्जन विजयी भएका छन् । 
एमालेबाट वडा नं ५ मा विकासमान श्रेष्ठ, १२ मा नारायणलाल अवाले, १५ मा सुरेश शाही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजङ्ग पाण्डे, २५ मा दौलतकुमार खत्री र २९ मा गणेशकुमार महर्जन विजयी भए । यस्तै माओवादी केन्द्रबाट वडा नं २१ मा रवीन्द्र महर्जन, २६ मा सुरेश महर्जन र २७ मा कृष्णहरि महर्जन विजयी भएका छन् । एकीकृत समाजवादीबाट वडा नं २ मा राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भ एभने वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं १३ मा गणेश केसी विजयी भएका छन् । गणना सुरु भएको ११ दिनपछि अन्तिम नतिजा सार्वजनिक भएको हो ।

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहनुभएको छ । महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी भएका छन् । 
झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका छन् । 
यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बन्नुभयो भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी भएका छन् । 
बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी भएका थिए । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएका थिए । 
झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित हुनुभएको छ भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका थिए ।–रासस 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार