कमलको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले 

सोमबार, जेठ ९, २०७९

झापा, ९ जेठ । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निर्वतमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए । 
कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरेका थिए ।
सात वटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी)का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो । ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।

पाल्पाको रम्भामा एमाले निर्वाचित

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए । 
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरेका छन् । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाएका छन् । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् ।
वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मत सहित उनको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याए । 
वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उनले एक हजार ४५३ मत ल्याई निर्वाचित भएका हुन् भने उनका प्रतिपस्र्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उनले ८३४ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गरे । 
वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याएका छन् ।
निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

भीमदत्त र पुनर्वासमा कांग्रेस निर्वाचित

कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे । 
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । 
नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकामा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र ) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरेका छन् । १९ वडा रहेको भीमदत्तनगरमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

पुनर्वासमा कांग्रेस विजयी
त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।
यहाँ नगरप्रमुखमा तोयप्रसाद शर्मा र उपप्रमुखमा भुलिया राना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुखमा शर्माले १० हजार ६०० मत र उपप्रमुखमा रानाले सात हजार ३४५ मत प्राप्त गरेका छन् ।
सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् । 
त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुनर्वासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।–रासस 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार