महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

सोमबार, जेठ ९, २०७९

महोत्तरी, ९ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका  प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका छन् । 
लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भएका हुन् । मुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उहाँहरु नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भएका हुन् । विसं २०७४ को स्थानीयतह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् । 
यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रो पटक निर्वाचित भएका हुन् । विसं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा  र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भएका हुन् । यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएकी छन् । 
यसअघिका १० प्रमुख÷अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित भए । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका सात जना पनि चुनाव जित्न असफल भएका छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षसमेत निर्वाचित हुने ३० सङ्ख्यामा २३ जना नयाँ अनुहार आएका छन् ।
निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख÷अध्यक्ष पदमा पाँच÷पाँच  जसपा र लोसपाले पाएका छन् । त्यसैगरी कांग्रेसले दुई,  एमाले र तमलोपाले एक÷एक र अर्को एक स्वतन्त्र उम्मेदवार जितेका छन् । 
त्यसैगरी उपप्रमुख÷उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका  १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८,  माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई÷दुई एवं नेकपा (एकीकृत समाजवादी) ले एक वडामा जित हात पारेका छन् । स्वतन्त्र निर्वाचित वडाध्यक्षको सङ्ख्या पाँच छ ।–रासस

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार