निर्वाचित जनप्रतिनिधिज्यू, ‘शक्तिको घमण्ड चढ्ला है’  

जनताले माफ गर्नेवाला छैनन्   
आइतबार, जेठ ८, २०७९

घरदैलोको सरकार चुन्न मत खसालेको तेस्रो दिनको गोधुली साँझ थियो त्यो । जेठको धुपलाई मत्थर पार्न परेको पानीले शितलता महसुश गराइरहेको थियो । समाचार कक्षको चटारो केही क्षणलाई थाँती राखेर कार्यालयबाट निस्केकी थिए । अक्सर म सार्वजनिक यातायातमा यात्रा गर्न रुचाउँछु । त्यो रुचिको महत्वपूर्ण कारण हो, त्यहाँ फरक फरक आचरणका मान्छे भेट हुनु ।  यसलाई अझ यसो भनौँ, सार्वजनिक यातायातको यात्रा समाज बुझ्ने यात्रा पनि हो । तर त्यो दिन मैले पैदल नै हिँडेर घर पुग्ने निर्णय गरेँ । मेरो कार्यालयबाट घरसम्म आधा घण्टा हिँडे पुगिन्छ । सडकमा हिँड्दै गर्दा मनभरि अनगिन्ती कुरा खेलिरहेका थिए । स्थानीय सरकारको जिम्मेवारी, उम्मेदवारको क्षमता, महँगो बन्दै गएको निर्वाचन, कोरोना महामारीमा स्थानीय सरकारको भूमिका यस्तै यस्तै । हिँड्दै गर्दा गाडामा थरिथरिका तरकारी राखेर बिक्री गरिरहेका व्यापारीको संवाद सुनेर म एकछिन टक्क अडिएँ । उनको नाम रमेश उप्रेती रहेछ । उनी मोवाइलमा गाउँका आफन्तसँग कुरा गरिरहेका थिए । भन्दै थिए, ‘गाउँमा चुनाव के भयो, जसले जितेपछि घर मुन्तिरको बाटो बनाउन लाउनुपर्छ ।’ रमेश उप्रेतीको अपेक्षा सुनिरहँदा मैले पानी जहाजको सपना देखाउने नेताहरू सम्झेँ । महामारीका बेला अभिभावक बनेर उभिनुको सट्टा कमिशन र भ्रष्टचारमा लिप्त भएको सरकारको कर्तुत एकपछि अर्को गर्दै मेरो मानसपटलमा आए । 

गाउँमा चुनाव के भयो, जसले जितेपनि घर मुन्तिरको बाटो बनाउन लाउनुपर्छ । वडावासीले आफूले चुनेर पठाएका जनप्रतिनिधिले बाटोको बनाइदिउँन्, पिउने पानी सर्वसुलभ बनाइदिउँन् भन्दै अपेक्षा राख्नु ठूलो कुरा होइन । नागरिकको नेतासँग गगनचुम्बी अपेक्षा पटक्कै छन् ।


बाध्यताले काठमाडौंमा थन्किएका उप्रेती आफ्नो भूमिको विकासप्रति चिन्तित थिए । चिन्तन गरिरहेका थिए । कंक्रिटको यो जंगलमा उनी रहरले भाँसिएका होइन्, यो सहरसँग उनको एउटै स्वार्थ छ, त्यो हो, दीर्घरोगी जीवनसंगिनीको उपचार गर्नु र छोराछोरी पढाउनु । दार्चुलामा उम्दाका अस्पताल बनेका भए उनलाई काठमाडौं ‘परदेश’ आउनुपर्ने बाध्यता के हुन्थ्यो र । तामाका मुना जस्ता कलिला छोराछोरीलाई काठमाडौं पढ्न पठाउने रहर शायद कसकोे हुन्थ्यो । बाध्यताबस आफ्नो मताधिकार प्रयोग गर्न असमर्थ भएपनि उनी निर्वाचनप्रति निकै उत्सुक देखिन्थे । उप्रेती त एक प्रतिनिधि पात्रमात्रै हुन,् जसले आफ्नो नजिकको सरकारसँग ठूला अपेक्षा राखेका छैन । रमेश जस्ता धेरैले दैलोको सरकारले आफ्नो दैनिक सजिलो बनाउने काम गरोस् भन्ने चाहन्छन् । आफ्नो टोलको बाटो बनोस्, सहुलितयतमा औषधि उपचार गर्न पाइयोस्, छोराछोरी कामका लागि विदेशिन नपरोस्, गुणस्तरीय शिक्षाको व्यवस्था होस््् यस्तै यस्त अपेक्षा छन् रमेशहरूको । काम मात्रै होइन, उनीहरूले जनप्रतिनिधिबाट सौहार्द व्यवहार खोजेका छन् । मिजासिलो र विनम्र व्यवहार चाहेका छन् । भोट माग्न हात जोड्दै अनुनय विनय गर्ने जनप्रतिनिधिले आफूलाई समस्या पर्दा काँध थाप्न सक्ने सामथ्र्य राखुन् भन्ने चाहन्छन् ।  
यहाँ एउटा प्रसंग उल्लेख गर्छु, स्थानीय तहको निर्वाचन २०७९ मा सर्वाधिक चर्चामा रहेको पालिका काठमाडौं महानगरपालिका हो । यो पालिका चर्चामा रहनुको मुख्य कारण स्वतन्त्र उम्मेदवार बालेन शाहको लोकप्रियता हो । लौरो चुनाव चिह्न लिएर निर्वाचनमा उठेका बालेन शाहप्रतिको क्रेज किन यस्तो धेरै भयो ? नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी भद्र नेतृ सिर्जना सिंहलाई उछिनेर उनी किन एकाएक लोकप्रिय भए ? उनले किन लोकप्रिय मत पाए ? यी प्रश्नहरूमा केन्द्रित भएर सबै राजनीतिक दलबाट निर्वाचित भएका जनप्रतिनिधिले मस्तिष्क मन्थन गर्नु अत्यावश्यक छ । साथै राजनीतिक दलहरूका लागि समेत यी प्रश्न यक्ष प्रश्न हुन् । बालेन शाहले जित्लान वा हार्लान ? त्यो समयले पक्कै बताउँछ । तर, उनको लोकप्रियता र उनले पाएको मत राजनीतिक दल र तिनका प्रतिनिधिको लागि ठूलो झड्का हो । राजनीतिक दलप्रतिको वितृष्णा हो । यसको अर्थ बालेन शाहको लोकप्रियता मात्रै सबै कुरा होइन । तर, एउटा कुरा के निश्चित हो भने, राजनीतिक दलको एजेण्डा, कार्यान्वयन पक्ष र राजनीतिकर्मीको बोली र व्यवहारप्रति उनीहरु सन्तुष्ट छैनन् । साँच्चै उनले निर्वाचन जितेर काठमाडौं महानगरको नेतृत्व गर्ने मौका पाए भए, पदमा पुगेपछि उनले गर्ने काम महत्वपूर्ण र अर्थपूर्ण हो । प्रणाली र प्रवृत्तिलाई दोष दिएर निर्वाचनका बेला जनतासँग गरेका बाचा बालेनले यदि बिर्से भने उनलाई पनि जनताले माफी दिने छैनन् । गणतान्त्रिक मुलुकका मेयरले शक्तिको दुरुपयोग गरेर अलोकतान्त्रिक कदमलाई पछ्याउन खोजे भने त्यत्तिबेला अर्को आन्दोलनका लागि जनता बाध्य हुन्छन् । यो हेक्का समेत हुन जरुरी छ । 
कतिपयले यस्तो पनि भन्ने गरेका छन्—‘विना राजनीतिक दल निर्वाचन जित्न संभव छैन । जितेपनि काम गर्न सक्दैनन् ।’ यी प्रश्न गर्नेहरूले अहिलेलाई यति मात्रै बुझे पुग्छ । सार्वभौम सम्पन्न जनता नयाँ शक्तिको खोजीमा छ, जसले कामको सम्मान गरोस्, कामलाई प्राथमिकता राखोस्, जसले विकासका नयाँ मोडलहरू कार्यान्वयन गर्ने चुनौति स्वीकार गर्न सकोस् । 
जनताको मन रिजाउने व्यवहार गर्न नसक्दा, जनताको मन जित्ने काम नगर्दा, अन्य पालिकामा पनि बालेन शाहहरू जन्मन सक्छन् । ती बालेन शाहहरूको आकर्षक एजेण्डालाई समर्थन गर्न स्थानीय तह निर्वाचनका मतदाताहरू तयार हुनेछन् । पदको शक्तिले व्यक्तिमा उन्माद ल्याउन सक्छ, त्यसको व्यवस्थापन गर्दै सहर र गाउँको विकासमा केन्द्रित भएर अघि बढ्न सके जनताले विश्वास रहिरहला । अन्यथा जनताले माफ गर्नेवाला छैनन् । 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार