पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य तीन हजार २७२ मतले अगाडि

शनिबार, जेठ ७, २०७९

कास्की, ७ जेठ ।  स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले तीन हजार २७२ मतले अघि छन् ।  
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहेका छन् ।  
यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याएका छन् ।
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसमा नेपाली कांग्रेसले १४ वडामा जीत हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ । गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ । नेकपा ९एमाले०ले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । अहिले पोखराका वडा नं  १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार