सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ७ जेठ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् । बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।
तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो । त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि यो विषयले संसद्मा पनि प्रवेश पाएको थियो । कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले घटनामा तत्काल छानविन थालेर दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए । सभामुख अग्नि सापकोटाले पनि अनुसन्धान अघि बढाउन सरकारलाई रुलिङ गरेका थिए । जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए । राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए । शनिबार पनि मुलुकका विभिन्न ठाउँमा पीडितको न्यायका लागि भन्दै प्रर्दशन भइरहेका वेला प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनायो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य छन् । समितिले नै घटनामा थप अनुसन्धान प्रक्रिया अघि बढाउने छ । समितिका एसपी कोइराला नेतृत्वको टोली शुक्रबारै पीडितलाई भेटेर कानूनी प्रक्रिया अघि बढाउने आश्वसन दिएको थियो । पाण्डेविरुद्ध कुन ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउने भन्ने चाहिँ टुंगो लागिसकेको छैन । यद्यपि, मानवबेचिखनसम्बन्धी ऐनअनुसार म्याद थप गर्नेबारे छलफल भइरहेको स्रोतको भनाइ छ । मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ । ‘समितिका एक सदस्यका अनुसार विगतमा अदालतबाट निर्देशात्मक आदेश जारी भएका आधारमा पनि यस्ता प्रकृतिका घटनामा अनुसन्धान अघि बढेका उदाहरण छन् ।
पाण्डेलाई २४ घण्टा पच्छ्याउँदा स्वयम्भूमा भेटिए
ती युवतीले टिकटकमा भिडियो राखेर सौन्दर्य प्रतियोगितामा सहभागी गराएर पार्टीको नाममा एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको आरोप लगाउँदै भिडियो सार्वजनिक गर्दा मनोज पाण्डे मुक्तिनाथ पुगेका थिए। भिडियोमा उनले अब्युजर मात्र भनेकी थिइन्। नाम खुलाएकी थिइन्। पछि इन्ट्राग्राममा भिडियो राखेर नाम खुलाइन्। बिहीबार बिहानबाट सामाजिक सञ्जालमा पान्डेको नाम र तस्बिर भाइरल भइसकेको थियो । उनी बिहीबारै पोखरा आइपुगे। भिडियो सार्वजनिक भए पनि के गर्ने भन्ने प्रहरी निष्कर्षमा पुगिसकेको थिएन। उनलाई निगरानीमा राख्ने मात्र निर्देशन आयो । बिहीबार पाण्डे हवाई मार्गबाट काठमाडौँ उत्रिएर सिधै आफ्नो वकिल भेट्न गए। ८ वर्ष पुरानो घटना भएको, युवतीले सबै प्रमाण डिलेट गरेको भनेको भन्दै उनीहरू उल्टो युवतीविरुद्ध साइवर क्राइममा उजुरी हाल्ने तयारीमा लागे । यता सामाजिक सञ्जालमा घटनाको अनुसन्धानका लागि दबाब बढिरहेको थियो। बलात्कारको जाहेरी लिन एक वर्षीय हदम्याद बाधक देखेपछि प्रहरीले बिहीबार केही गरेन। शुक्रवार एक समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्यो। एक वर्षीय हदम्यादका कारण न्याय नपाउने भए भन्दै युवतीले रुदै नयाँ भिडियो हालिन्। अनि शुक्रवारै प्रहरी उनको सम्पर्कमा पनि पुग्यो । महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण कोइराला एक मनोपरामर्शदाता प्रहरी सहित उनकै घरमा पुगेको थियो । उनीहरूले बलात्कारीलाई समात्न नसक्ने पुलिस के काम भन्दै रिसाए । बिस्तारै मनोमरापर्शदाताले उनीसँग कुरा गर्दै गएपछि खुल्न थालिन् । घटना पक्का हो हैन, पीडित कानुनी उपचारमा जान तयार हो हैन भन्ने यकिन गर्न पुगेको प्रहरीले आवश्यक प्रारम्भिक जानकारी पाएसँगै आरोपी पाण्डेलाई नियन्त्रणमा लिन खोज्न थाल्यो। तर उनी मोबाइल अफ गरेर लुकिसकेका थिए । प्रहरी बुद्दनगरमा रहेको उनको डेरा पुग्यो । बहिनी मात्र भेटिइन् डेरामा । केही वर्ष अगाडि नै उनको डिभोर्स भएको खुल्यो । उनी एभरेस्ट होटेलमा समेत बस्ने गरेको जानकारी पाएको प्रहरीले त्यता पनि खोज्यो तर फेला पारेन । हायातमा रहेको शंकामा त्यहाँ पुग्दा नि भेटिएन । शुक्रवार त्यसै बित्यो । महिला हिंसाविरुद्ध आन्दोलन सुरु भएकाले गृह मन्त्रालय आन्दोलन चर्किनु अगाडि नै एक्सनमा जान चाहन्थ्यो। शुक्रवारकै संसद्मा सभामुख अग्नि सापकोटाले पनि सरकारलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिए । तर पाण्डे फेला परेनन्। गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले महाशाखाका प्रमुख वशन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गर्दै विज्ञप्ति निकालेर अनुसन्धानमा सघाउन आग्रह गर्यो । शुक्रवार रातभरको खोजीमा पनि पाण्डे फेला परेनन्। शनिवार बिहानैबाट प्रहरी टोली खोजीमा खटियो । कतै पल शाह झैँ लुकिदिएर हैरान बनाउने हो कि वा भागेर भारत पुग्ने हो कि भन्ने चिन्तामा देखियो प्रहरी । शनिवार प्रहरीले पाण्डेबारे नयाँ क्लु फेला पार्यो। जसलाई पच्छ्याउँदै जाँदा उनी स्वयम्भुको क्षेत्रमा फेला परे । महाशाखाको टोलीले साढे ३ बजे नियन्त्रणमा लिएर मिनभवनको कार्यालयमा ल्यायो। पाण्डेलाई तत्काल सोधपुछको लागि नियन्त्रणमा लिएको महाशाखाका एक अधिकारीले बताए। अनुसन्धान कसरी अगाडि बढाउने भन्ने टुङ्गो लागी सकेको छैन । टुङ्गो नलागे पनि पाण्डे केही समय प्रहरी हिरासतमा बस्ने पक्का छ ।
छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह
केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे अध्ययन गर्न बनेको छानविन समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यस्ता विषयमा सीघ्र छानविनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । “पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा छानविन समिति गठन गरिएको र समितिबाट छानविनसमेत शुरु भइरहेको अबस्था छ, उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालय सबैमा अनुरोध गर्दछ”, गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले शुक्रबार गठन गरेको उक्त छानविन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त सामग्रीका सन्दर्भमा बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदबाट उठाइएको र सभामुखले रुलिङ गर्नुभएको तथा नागरिक समाजबाट कारवाहीका लागि प्रदर्शन एवं दबाबका सम्बन्धमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समस्यामा परेकालाई न्याय दिनु राज्यको कानुनी दायित्व हो : कांग्रेस नेता महर
बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुन अनुसार कारबाहीको भागेदार हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए । सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए । 'अहिले संसद चलिरहेको छ । यस्ता घटनाप्रति संसदको पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ' उनी भन्छन् । 'कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषि उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामोसमयसम्म मुख खोल्न किन सकिनन् । उलाई दिइएको दवाव र धम्किको पनि अनुसन्धान हुनुपर्छ', महरले भने । कानुनी कारबाही नभए अपराधिमा थप दम्भ बढ्ने उनी बताउँछन् । 'अपराधिलाई कारबाही भएन भने उसको आत्मवल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधिमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु' उनी भन्छन् । महिलालाई सम्मानपूर्वक बाँच्नपाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ । यतिबेला बलात्कारविरुद्ध माग राख्दै माइतीघर मण्डला र बालुवाटारमा स्वस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।