गठबन्धन सफल : प्रचण्ड

शनिबार, जेठ ७, २०७९

काठमाडौँ, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताएका छन् ।
मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै उनले अगाडि थपे , “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।”
उनले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए ।
मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए ।
उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”
उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए।
मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । “त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईहरु आउनुभएको छ”, अध्यक्ष दाहालले भने । उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराए।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गरिन् ।
कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए । कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।–रासस

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार