म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

शनिबार, जेठ ७, २०७९

म्याग्दी, ७ जेठ । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छवटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् ।
नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरु सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भए । नेकपा माओवादी केन्द्रबाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो भइन् । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए । स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारणले निर्वाचित हुनेको सङ्ख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए । जिल्लामा नेकपा ९एमाले०ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ ।

कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ । माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका छन् ।

खुम्चियो महिलाको नेतृत्व
दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा यहाँका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो ।
यहाँ पनि नेकपा ९एमाले०का विरुद्ध पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए ।
राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो । गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी बडिगाड गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख–उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् ।
एमालेले भने बागलुङ नगरपालिकाबाहेक नौवटै स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि सबै पराजित भए । प्रमुख–अध्यक्षमा भने एमालेले पनि महिला उम्मेदवार खडा गर्न सकेको थिएन ।
तमानखोला गाउँपालिकामा गठबन्धन नगरी एक्लै लडेको कांग्रेसले उपाध्यक्षमा हिराकुमारी छन्त्याललाई जिताउन सफल भएको छ । गठबन्धन गरिएको भए उक्त पदमा अन्य दलबाट पुरुष नै आउने स्थिति बन्थ्यो । गठबन्धन गरे पनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन् । दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलामा असन्तुष्टि पनि बढेको थियो ।
टिकट नपाएपछि केही महिलाले एकाएक दल फेरेर उम्मेदवारी दिने आँटसमेत गरे । विसं २०७४ को स्थानीय चुनावमा यहाँका छ स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला निर्वाचित भएका थिए । तीमध्ये यसपटकको चुनावमा कोही पनि उम्मेदवार बन्न पाएनन् ।
अघिल्लो चुनावमा पनि केही स्थानीय तहमा दलहरूबीच गठबन्धन भएकाले दुवै पदमा पुरुष आएका थिए । यसपटकको चुनावमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी दुई महिला नेतृत्वमा आएका छन् । दश स्थानीय तहमा रहेका ८५ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व छ । गठबन्धनका नाममा महिलाहरूलाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला सङ्गठनले चुनावको मनोनयनअघि नै ध्यानाकर्षण गराए पनि खासै सुनुवाइ हुन सकेन ।–रासस

 

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार