नुवाकोटका चार स्थानीय तहको मुख्य दुवै पदमा पुरुष उम्मेदवार

शनिबार, जेठ ७, २०७९

त्रिशूली, ७ जेठ ।  स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबीच भएको गठबन्धनका कारण नेतृत्वमा महिला उम्मेदवार पुग्न बञ्चित भएका छन् । नुवाकोटका बाह्र स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार निर्वाचित भए । जिल्लाको बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, किस्पाङ र शिवपुरी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार राजनीतिक दलले उम्मेदवारी दर्ता गर्दा कानूनअनुसार प्रमुख दुई पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिएको र उक्त पदमा पुरुष नै उम्मेदवार उठाएको देखिन्छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको तालमेलअनुसार जिल्लाको बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख दुई पदमा भागबण्डाका आधारमा पुरुष उम्मेदवार मात्रै उठाएका र उनीहरु नै निर्वाचित भएका थिए । बेलकोटगढीको प्रमुखमा माओवादी केन्द्रका जगतबहादुर गुरुङ र उप्रमुखमा नेपाली कांग्रेसका शिवप्रसाद दाहाल निर्वाचित भए । तारकेश्वरको अध्यक्षमा कांग्रेसका शिवप्रसाद अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भए ।
माओवादी केन्द्र र नेकपा एमालेबीच भएको गठबन्धन अनुसार किस्पाङको अध्यक्षमा नेकपा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका अजुर्नप्रसाद न्यौपाने निर्वाचित भए । यी तीनवटै पालिकामा तालेमेल गरेर राजनीतिक दलहरुले पुरुष उम्मेदवार मात्रै उठाएका थिए ।   जिल्लाको शिवपुरी गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको गठबन्धनअनुसार उपाध्यक्ष पदमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भए । अध्यक्षमा नेपाली कांग्रेसका गोविन्दप्रसाद थपलिया निर्वाचित हुँदा कांग्रेसको महिला उम्मेदवार इन्दिरा खड्कालाई पराजित गर्दै नेकपा (एस) को सहयोगले माओवादी केन्द्रका पुरुष उम्मेदवार वीरबहादुर तामाङ निर्वाचित भए ।  

वडाध्यक्षमा दुई महिला निर्वाचित

जिल्लाका ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन्  । बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी निर्वाचित भइन् । यसअघि सोही वडाको वडासदस्यमा निर्वाचत उनले यस पटकको निर्वाचनमा वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेका पुरुष उम्मेदवारलाई पारजित गरिन् ।
बेलकोटगढीकै वडा नं ६ मा पुनःदोस्रो कार्यकालका लागि नेकपा (एमाले) का उम्मेदवार अम्बिका तामाङ निर्वाचित भइन् । यसअघिको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित तामाङले यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धी  माओवादी केन्द्र र नेपाली कांग्रेसका पुरुष उम्मेदवारलाई पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत टेकबहादुर कार्कीले जानकारी दिए ।
 
स्वतन्त्र उम्मेदवार विजयी

नुवाकोटको म्यागङ गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ निर्वाचित भएका छन् ।  यसअघि उक्त वडामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका उनले यो पटकको चुनवामा पार्टीले उम्मेदवार नबनाएको भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । पार्टीबाट उम्मेदवार भएकालाई पराजित गर्दै निर्वाचित तामाङले ५७० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ३६४, माओवादी केन्द्रका उम्मेदवारले २३४ र नेकपा एमालेका उम्मेदवारले १६२ मत ल्याएको निर्वाचत अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार