सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पर्वतारोहण र पदयात्रा गर्ने विदेशी नागरिकका लागि भिसा खुल्ला गरेको सरकारले अब अन्य पर्यटकलाई पनि प्रवेशाज्ञा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । गत कात्तिक १ गतेबाट पर्वतारोहण र पदयात्रा गर्ने विदेशी नागरिकका लागि ‘अन–अराइभल भिसा’ खुल्ला भइसकेको छ । अन्य पर्यटकका लागि पनि चाँडै ‘सकारात्मक’ निर्णय हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । उनले भने, ‘पर्यटन मन्त्रालयबाट अन्य पर्यटकलाई खुल्ला गर्ने प्रस्ताव सीसीएमसीमा पठाएर त्यहाँबाट पनि सकारात्मक निर्णय भएर मन्त्रिपरिषद्मा पठाइएको छ ।’ अब बस्ने मन्त्रिपरिषद् बैठकमा यो विषयमा छलफल हुने मन्त्री भट्टराईले जानकारी दिएका छन् । मन्त्री भट्टराईले मिति नै तोकेनन् तर ‘अन्य पर्यटकका लागि चाँडै आगमन खुल्ला गरिने’ जानकारी दिएका छन् । उनले भने, ‘ठ्याक्कै मिति नै भन्न सकिनँ तर अब आउने क्याबिनेटमा छलफल हुन्छ त्यो विषय ।’ अहिलेसम्मका छलफल सबै सकारात्मक भएको उनको भनाइ छ । बहत्तर घण्टाको कोरोनाभाइरस संक्रमण नभएको पीसीआर रिपोर्ट भए किन रोकिराख्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्री भट्टराईले जानकारी दिए । उक्त रिपोर्ट भएमा अन–अराइभल भिसा दिन सकिने उनले बताए । अहिले नेपालमा पर्वतारोहण र पदयात्रा गर्नेबाहेक अरू पर्यटकलाई प्रवेश दिइएको छैन ।
एक महिनामा २,००० विदेशी आए गत कात्तिक १ गतेबाट पर्वतारोहण तथा पदयात्रा गर्ने विदेशीका लागि नेपाल आउन खुल्ला गरिएपछि अहिलेसम्म झन्डै २,००० विदेशी नेपाल आएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार अहिले पर्वतारोहण र पदयात्रा गर्नेबाहेक अन्य पर्यटन क्षेत्रका विदेशीलाई नेपाल आउन अनुमति दिइएको छैन । तर ती २,००० जनामा अधिकांश नेपालमा काम गर्ने विदेशी कूटनीतिक नियोग, संयुक्त राष्ट्रसघीय निकाय तथा विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गर्ने कर्मचारीहरू रहेको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिएका छन् । कात्तिक महिनामा पर्वतारोहणका लागि २५ जना र पदयात्राका लागि १५० जना विदेशी नागरिकलाई पनि प्रवेशाज्ञा दिइएको थियो ।
विदेशीका लागि भिसा पाउने प्रावधान अध्यागमन विभागका अनुसार हाल पर्वतारोहण र पदयात्राका लागि मात्र विदेशीका लागि भिसा उपलब्ध गराउने गरिएको छ । भिसा पाउनका लागि कोरोनाभाइरस संक्रमण नभएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट, ५,००० डलर बराबरको कोभिड–१९ बीमा तथा नेपाल आएर सात दिन अनिवार्य क्वारन्टीन बस्नुपर्ने व्यवस्था छ । महानिर्देशक केसीले भने, ‘यो पर्यटन मन्त्रालयले पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने विदेशीका लागि गाइडलाइन बनाएको हो । विदेशीका लागि मात्र होइन, ती विदेशीसँग जाने नेपालीका लागि एक लाख रुपैयाँ बराबरको कोरोनाभाइरस बीमा हुनुपर्छ ।’ कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएपछि विदेशीका लागि नेपाल आउन प्रतिबन्ध लगाइएको थियो । गत कात्तिक १ गतेदेखि भने पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी नागरिकका लागि भने नेपालले खुल्ला गरेको हो । अहिले नेपालमै कोरोनाभाइरस फैलिएकाले विदेशीले सार्छन् भन्ने मानसिकता त्याग्नुपर्ने पर्यटन व्यवसायीहरूको तर्क छ
विदेशीका लागि गाइडलाइन ‘बाधक’ पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउन नेपाल सरकारले विदेशी नागरिकका लागि बनाएको गाइडलाइन पर्यटन प्रवर्धनका लागि बाधक भएको ट्रेकिङ एजेन्सीज असोसिएशनका पदाधिकारीहरू बताउँछन् । नेपाल सरकारले ती प्रावधानलाई खुकुलो बनाउनुपर्ने एसोसिएशनका अध्यक्ष खुमबहादुर सुवेदीले बताए । उनले भने, ‘हामीसँग धेरै विदेशीले सम्पर्क गरिरहेका छन् नेपाल आउन । तर सरकारको प्रावधान सुनेर हच्किन्छन् ।’ पर्वतारोहण तथा पदयात्राका लागि आउने विदेशी नागरिक समुदायबाट अलग्गै हुने भएकाले उक्त प्रावधानलाई खुकुलो बनाउनुपर्ने सुवेदीको भनाइ छ । उनले भने, ‘टानबाट हामीले १५० जना पर्यटकका लागि भिसा उपलब्ध गराउने विषयमा सिफारिस गरेका छौँ । विदेशीहरूको कुरा पनि सरकारका प्रावधान हटाए हुने भन्ने नै छ ।’ पर्वतारोहण र पदयात्रामा आउने विदेशी नागरिकका लागि टानको सिफारिसमा नेपालले अन–अराइभल भिसा उपलब्ध गराउने गरेको छ । गत महिना बहराइनका राजकुमार सम्मिलित एउटा टोलीले नेपालमा पर्वतारोहण गरेको थियो ।
पर्यटन क्षेत्रमा झिनो आशा कात्तिक १ गतेबाट पर्वतारोहण र पदयात्राका लागि आउने सरकारको प्रावधान विदेशी नागरिकलाई भिसा दिने नीति लिएकाले धराशायी बनेको पर्यटन क्षेत्रलाई उकास्न झिनो आशा जागेको पर्यटन व्यवसायीहरू बताउँछन् । सरकारको प्रावधानका कारण धेरै विदेशी आउन नसके पनि केही आउन थालेको र केही आउने क्रममा रहेकाले पर्यटन क्षेत्र केही चलायमान हुनेमा पर्यटन व्यवसायी विश्वस्त देखिन्छन् । ६ महिनाभन्दा बढी समय ठप्प बनेको पर्वतारोहण तथा पदयात्रा केही चलायमान हुने ट्रेकिङ एजेन्सीज एसोसिएशन टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रितालले बताए । उनले भने, ‘केही आशा चाहिँ जागेको छ । तर सरकारले अझै गम्भीर भएर सोच्नुपर्ने बेला हो ।’ कोरोनाभाइरस संक्रमणको स्रोत अहिले नेपालकै समुदाय भएकाले विदेशीले सार्छन् भन्ने मानसिकता त्याग्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । तर एकै पटक पहिलाको सामान्य अवस्था जस्तो खुल्ला गर्न नसकिने भएकाले क्रमैसँग हालका प्रावधान हट्दै जाने अध्यागमन विभागका अधिकारीहरू बताउँछन् ।–बीबीसी