काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण

सोमबार, जेठ २, २०७९

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । मतगणनामा निकै ढिलाइ भइरहेको प्रति आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए ।  मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै कुनै उपाय लगाएर समाधान गर्ने प्रयास भइरहेको बताए । ‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलले भने ।  धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयेगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको उनको भनाइ छ ।  काठमाडौं महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौं लाग्ने देखिन्छ । मतगणनामा ढिलाइ भएपछि दुई ठाउँ थप गरेको थियो । सुरुमा १ नम्बर र ३२ नम्बर वडाबाट मत गणना थालिएको थियो । पछि २,३,४ र ३१ वडाको मत गणना थालिएको थियो ।  ३१ वैशाख बिहान १० बजेदेखि थालिएको मत गणना साेमबार अपरान्हसम्म आउँदा १४ हजार मात्र मतगणना भइसकेको छ । मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो ।  यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मतगणना १३ दिनमा सकिएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार