Tihar Banner
Tihar Banner

पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेच्दिने हामीले : शेरबहादुर देउवा

शनिबार, कात्तिक २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले विशेष महाधिवेशनको इतिहास स्मरण गर्दै विगतमा सुवर्णशमशेर र बीपी कोइरालासमेत विशेष महाधिवेशनको पक्षमा रहेको उल्लेख गरे । उनले भने, ‘काठमाडौँ जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ । अब मैले नबोली हुँदैन । यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो । बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा ।’ देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए । उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे । उनले भने, ‘यस बेला सभापति म थिएँ । मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ । मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ । सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस् । कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो ।’ उनले आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताए । उनले भने, ‘अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन । त्यसकारण हामीले अदालतमा मुद्दा हालेका हौँ । त्यसकारण जिल्ला अदालतमा मुद्दा हालेका थियौँ हामीले ।’ देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यानलाई खतरा रहेको विषयसमेत सार्वजनिक रूपमा बोलेको दाबी गरे । साथै उनले पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको विषय उठाउँदै आर्थिक लेनदेनका आधारमा पार्टी किन्न खोजिएको आरोप लगाए । उनले भने, ‘इलाम सापकोटा र १८ करोड भनेको छ, १८ करोड सानो पैसा हो र त्यो । त्यो पैसा दिएर अब पार्टी किन्दियो । पैसामा पार्टी बेच्दिने अब हामीले ?’

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार