सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २६ वैशाख । हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौँ मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् । हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब १४६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन् । ली च्याछाउले १४१६ मत प्राप्त गरेका छन् । सम्पूर्ण निर्वाचन प्रक्रिया हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन मामिला आयोग, भ्रष्टाचारविरुद्धको स्वतन्त्र आयोग, उम्मेदवारको छानबिन प्रतिनिधिहरू, हङकङवासी र सञ्चारमाध्यमको निगरानीमा गरिएको हो । हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले नियुक्तिका लागि केन्द्रीय जन सरकारलाई निर्वाचन परिणाम पेस गर्नेछ । छैटौँ मुख्य प्रशासकको कार्यावधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ । हङकङमा नयाँ प्रशासक चयन गर्न आइतबार मतदान भएको थियो । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रूपमा उभ्याइएको थियो । ली प्रशासकका लागि एक मात्र उम्मेदवार बनेका थिए । हङकङका पूर्व मुख्यसचिव लीे प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन लीलाई नयाँ प्रशासकको रूपमा ल्याउन लागेको हो । एक हजार ५०० जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना चिनियाँ प्रशासनको निकट नै रहने गरेका छन् । सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच हङकङको प्रमुख प्रशासकमा झन् कट्टररूपमा चीनको समर्थक रहेका लीको आगमन भएको छ ।–रासस/एएफपी