सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ ः बुधबार दिउँसो काठमाडौं आइपुगेका भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले अनौपचारिक भेटघाट सुरु गरेका छन् । छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाध्यक्ष नरवणे भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विशेष विमान ’इन्डियन एयर फोर्स मार्फत काठमाडौं आएका हुन् । उनी सवार भारतीय सेनाको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भारतीय सेनाध्यक्ष नरवणेको स्वागतमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालगायतका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य छन् । नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए । यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । नरवणेले काठमाडौंमा रहँदा रक्षामन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने छन् । भारतीय सेनाध्यक्षको भ्रमणको विरोध हुन सक्ने भन्दै चार वटै सुरक्षा निकायलाई विशेष रुपमा परिचालन गरिएको छ । बुधबार नै माइतीघर मण्डलामा नरवणेको भ्रमणको विरोधमा प्रदर्शन पनि भएको थियो । भ्रमणप्रति चासो केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई काठमाडौं र दिल्लीमा विशेष चासोका साथ हेरिएको छ । नक्सा विवादका कारण केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा औपचारिक सम्बन्ध सुरु हुन नसकिरहेका बेला नरवणेको भ्रमण भएको छ । विश्लेषकहरूले नरवणेको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई अगाडि बढाउन सहयोग मिल्ने अपेक्षा गरेका छन् । विशेषगरी शुक्रबार प्रधानमन्त्री ओली र नरवणेबीच बालुवाटारमा हुने भेटवार्तालाई लिएर दिल्ली र काठमाडौं दुवैमा चासो राखिएको छ । गत वैशाखमा भारतले एकतर्फी ढंगले चीनको मानसरोवर जोड्ने पिथौरागढ–लिपुलेक सडकखण्डको उद्घाटन गरेयता दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ । भारतले उक्त सडक नेपाली भूमिमा निर्माण गरेको भन्दै नेपालले औपचारिक रूपमै विरोध जनाएको थियो । नेपालका तर्फबाट जनाइएको उक्त विरोधका पछाडि विदेशी शक्तिको हात रहेको अभिव्यक्ति दिएपछि नरवणेको चर्को आलोचना भएको थियो । त्यसपछि नरवणेले आफ्नो अभिव्यक्तिलाई सच्याउँदै नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका थिए । नेपालले औपचारिक रूपमै सीमा विवादसम्बन्धी छलफल गर्न भारतसँग आग्रह ग¥यो । तर, भारतले नेपालले गरेको उक्त आग्रह गरेको बेवास्ता गर्दै कोरोना महामारीपछि मात्र सीमा विवादसम्बन्धी बैठक राख्न सकिने जवाफ दिएको थियो । यता नेपालले ऐतिहासिक प्रमाणलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक ग¥यो । नेपालको नयाँ राजनीतिक नक्सालाई भने भारतले कृत्रिम भन्दै अस्वीकार गर्दै आएको छ । नेपालले त्यही नक्साका आधारमा संविधानसमेत संशोधन ग¥यो । त्यसबाट थप आक्रोशित बनेको भारतले सीमा विवाद छलफलका लागि नेपालले नै वातावरण बनाउनुपर्ने बताउँदै आएको छ । जसले गर्दा राजनीतिक तहमा औपचारिक संवाद हुन सकेको छैन । यसबीचमा भारतको स्वतन्त्रता दिवसका दिन दुई देशका प्रधानमन्त्रीबीच संक्षिप्त टेलिफोन कुराकानी भएको थियो । संक्षिप्त नै भए पनि उक्त कुराकानीलाई राजनीतिक नेतृत्वबीच लामो समयदेखि कायम संवादहीनतामा ‘आइसब्रेक’ का रूपमा हेरिएको थियो । यो पृष्ठभूमिमा नरवणेको चारदिने भ्रमण मूलतः परम्पराको निरन्तरता भए पनि यसले दुई देशबीच राजनीतिक संवाद बढाउन सहज वातावरण निर्माणमा सघाउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीले भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तरता भए पनि दुई देशबीचको सम्बन्धमा विगत केही महिनादेखि कायम असमझदारी र अविश्वास कम गर्दै जाने सन्दर्भमा अर्थपूर्ण रहेको बताए । त्यसो त नरवणेले पनि आफ्नो भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप सुदृढ हुने बताएका छन् । भ्रमणको पूर्वसन्ध्यामा उनले एक भिडियो सन्देश जारी गर्दै भ्रमणबाट दुई देशका सेनाबीचको मित्रता र आपसी सम्बन्ध थप सुदृढ हुने बताएका हुन् । ‘भ्रमणलाई लिएर म निकै उत्साही छु । मेरो भ्रमणले दुई देशका सेनाबीचको मित्रता र आपसी सम्बन्ध थप बलिया बनाउन लामो यात्रा तय गर्नेछ,’ भारतीय समाचार संस्था एनआईईमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा नरवणेले भनेका थिए । उनले राष्ट्रपति भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानीबाट सम्मानित हुन पाउनुलाई आफूले ठूलो सम्मानका रूपमा लिएको समेत उल्लेख गरेका छन् । यसअघि भारतले आफ्ना स्थलसेना प्रमुखको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परात सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको थियो । काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गरे । भारतीय सञ्चारमाध्यमहरूले पनि नरवणेको भ्रमणले सीमा विवाद छलफलका लागि विदेशस्तरीय बैठकका लागि अनुकूल वातावरण निर्माण गर्ने चर्चा गरेका छन् । भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले मंगलबारको संस्करणमा लामो समयदेखि रोकिएको विदेश सचिवस्तरीय बैठक अघि बढाउन नरवणेले काठमाडौंमा रहँदा प्रधानमन्त्री ओलीसँग गर्ने भेट महत्वपूर्ण हुने उल्लेख गरेको छ । ‘भेटवार्ता अपेक्षा गरेजस्तो भए भारतले विदेश सचिवस्तरीय वार्ता र सीमासम्बन्धी प्राविधिक समितिको बैठकका लागि सहमति जनाउनेछ,’ पत्रिकाले लेखेको छ । अर्को भारतीय दैनिक टाइम्स अफ इन्डियाले पनि सीमासम्बन्धी प्राविधिक समितिको बैठक नरवणेको भ्रमणको नतिजामा निर्भर रहने उल्लेख गरेको छ । समितिले कालापानी र सुस्ताबाहेक सीमासम्बन्धी प्राविधिक र अन्य विषयमा छलफल तथा समाधानका लागि पहल गर्ने गर्छ । तर, दुई देशबीच सहमति नबन्दा हरेक वर्ष हिउँदमा बस्ने गरेको प्राविधिक समितिको बैठक गत वर्ष भएन । नेपालले यस वर्षको बैठकका लागि मंसिर पहिलो साता प्रस्ताव गरेकामा भारतबाट कुनै जवाफ आएको छैन ।