बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं, १४ वैशाख । उम्मेदवारी फिर्ता लिने अघिल्लो दिन सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकपछि शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।
शीर्ष नेताहरुले सिट बाँडफाँटमा सहमति हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडामा तालमेलका लागि बुधबार नै पहल गर्न स्थानीय तहका संयन्त्रलाई निर्देशन दिएका छन् ।

 

पाँच दलका शीर्ष नेताहरू सहभागी बैठकले बागी उम्मेदवार फिर्ता गर्नेसहितका ७ बुँदे निर्णय गरेको छ । ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको आजै बैठक राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबीच सिटको बाँडफाँट गर्ने भनिएको छ ।
यस्तै नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरुबीच भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि निर्णय भएको छ । यसका लागि सम्बन्धित दलले आवश्यक कार्य गर्ने छन् ।
गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने पनि पाँच नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने भनिएको छ ।
यस्तै, गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  २३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार