लमजुङका ठूला राजनीतिक दलले सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने

आइतबार, वैशाख ११, २०७९

लमजुङ, ११ वैशाख । लमजुङका ठूला राजनीतिक दलले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेदवार छनोटमा सकस परेपछि ठूला दलहरूले भोलिमात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् । लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भए पनि साझा उम्मेदवार छान्न सकेका छैनन् । कुन दललाई कुन पालिकाको नेतृत्व दिने भन्नेमा गठबन्धन दलबीच सहमति हुन सकेको छैन । आठ स्थानीय तह रहेको जिल्लामा २ स्थानीय तहको प्रमुखमा माओवादीले दाबी गरेको छ । कांग्रेसले एक पालिका प्रमुखमात्र दिन तयार भएकाले गठबन्धन दलबीच सहमति हुन सकेको छैन । स्रोतकाअनुसार गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरि मोटामोटी सहमति भएको छ ।

बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत जमाजवादीलाई दिने एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको स्रोतले बताएको छ । तर, पार्टीभित्र आन्तरिक विवाद हुने भएकाले उम्मेदवारीको समयमा मात्रै सार्वजनिक गर्ने तयारी गठबन्धन दलले गरेका छन् । 

नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन । एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत छनौट भएका छन् । जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । २०७४ मा एमाले र माओवादी केन्द्रबीच पाँच तहको प्रमुख र उपप्रमुखमा एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाएका थिए । 

जसमा एमालेले बेँसीसहर, सुन्दरबजार, राइनास नगरपालिका, क्होँलासोँथर र मर्स्याङ्दी गाउँपालिकाको प्रमुख, बेंसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका, दोर्दी र क्होँलासोँथर गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो । गठबन्धन भए पनि माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङ्दी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दुधपोखरीमा माओवादी उम्मेदवार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेदवार पराजित भएका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेसले दुधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो । आठ स्थानीय तह रहेको लमजुङमा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार