कांग्रेसको शिक्षा नीतिः ‘रट्ने र घोक्ने’ सिकाई निरुत्साहित, ‘सोच्ने, सोध्ने र सिक्ने’ अभ्यासलाई प्रोत्साहन 

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले अबको दशकमा ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्ने जनाएको छ ।  कांग्रेसले आइतबार सार्वजनिक गरेको निर्वाचन घोषणापत्रमा उक्त कुरा बताएको हो । ‘अबको दशकमा हाम्रो शिक्षाप्रणालीलाई व्यापक सुधार गर्दै सबैलाई गुणस्तरीय शिक्षा दिलाउने हाम्रो पार्टीको प्रमुख लक्ष्य रहनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘जसको लागि ‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लानेछौं ।’  

विद्यालयमा उपस्थिति दर उत्साहजनक देखिएता पनि ड्रप–आउट दर घटाउन र रिटेन्शन दर बढाउने नीति र कार्यक्रमहरु अबलम्बन गर्दैजाने पनि घोषणापत्रमा उल्लेख छ । द्रूत गतिमा विकास भइरहेको प्रविधि, भूमण्डलिकरण र विश्व परिवेशमा विकसित हुँदै गरेको आर्टिफिशल इन्टेलिजेंस, रोबोटिक्स, स्वचालनको उपभोग मात्र गर्ने हैन, तिनको विकास र निर्माणमा सहभागी हुन सक्ने शिक्षाको जग बसाउन कांग्रेसको नेतृत्वका सरकारहरूले समानान्तर रुपमा प्राथमिकतामा राख्ने घोषणापत्रमा जनाइएको छ । 

शिक्षा क्षेत्रमा सिकाई केन्द्रित विद्यालय, जवाफदेही प्रणाली, सबल नेतृत्व, उत्प्रेरित शिक्षक, जागरुक अभिभावक, प्रतिबद्ध कर्मचारी र स्रोतको उपलब्धतामा कांग्रेसले जोड दिने घोषणापत्रमा उल्लेख छ । हरेक स्थानीय तहमा एउटा सुविधा सम्पन्न उत्कृष्टताको केन्द्रको रूपमा कम्तीमा एउटा ‘अगुवा विद्यालय’ स्थापना गर्ने र विद्यालय शिक्षामा हाल रहेको उच्च विद्यालय छाड्ने दरलाई कम्तीमा २० प्रतिशतले घटाउने कांग्रेसले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार