कांग्रेसको स्थानीय सरकारले अनुशरण गर्ने सैद्धान्तिक अवधारणा

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले आज घोषणापत्र मार्फत कांग्रेसको नेतृत्व रहने स्थानीय सरकारले पालना गर्ने सैद्धान्तिक अवधारणाहरु सार्वजनिक गरेको छ ।  संविधानको मर्म र भावना तथा नेपाली नागरिकको चाहना अनुरुप सैद्धान्तिक अवधारणाहरु तयार पारिएको घोषणापत्रमा जनाइएको छ । ‘संविधानप्रदत्त नागरिकको स्वतन्त्रता र अधिकारलाई विस्तार गरी व्यक्तिको प्रतिभाको प्रष्फुटन गराउने वातावरण निर्माण गर्दै नागरिकको पहिचान, प्रगति र प्रतिष्ठालाई मजवुद बनाउने,’ कांग्रेसले घोषणापत्रमा भनेको छ, ‘जनतामुखी नीति अनुशरण गरी उत्तरदायी र जवाफदेही रूपमा सरकार सञ्चालन गर्ने ।’ 

समुन्नत नेपालको राष्ट्रिय आकाङ्क्षा अनुरुप स्थानीय तहले समुन्नत गाउँ, समुन्नत नगरका नीति र कार्यक्रमको ठोस मार्गचित्र तय गरी कार्यान्वयन गर्ने कांग्रेसको अवधारणा छ ।  संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी बहन गरी अधिकार सम्पन्न र प्रभावकारी सरकार सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । 

दिगो विकासको लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य निर्धारण गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने पनि कांग्रेसले बताएको छ ।  ‘सामाजिक न्याय र समावेशिताको संवैधानिक मर्मलाई आत्मसात गर्दै सवै क्षेत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने,’ घोषणापत्रमा उल्लेख छ ।  नागरिकको भरोसा र विश्वास जित्ने गरी स्थानीय सरकारलाई जनताको सेवकको रूपमा विकसित गर्ने सैद्धान्तिक अवधारणा कांग्रेसको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार