ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि कृषि सहकारी संस्था

शनिबार, वैशाख १०, २०७९

विराटनगर, १० वैशाख । सुनसरीको बर्जु गाउँपालिकास्थित सबल साना किसान कृषि सहकारी संस्था लिमिटेडले ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको ती संस्थाले बचत तथा ऋण सेवादेखि कृषिलाई व्यवसायीक बनाउन आवश्यक उन्नत मल, बीउ, प्राविधिक सेवा र बजार व्यवस्थापनका काममा प्रभावकारी भूमिका खेल्न थालेका छन् । यसका साथै सो संस्थाले आगामी वर्षदेखि प्रवाह गर्ने सेवा र सुविधामा वृद्धि गर्दै लैजाने नीति लिएको बताइएको छ ।
झन्डै तीन वर्षअघि स्थापना भएको सो संस्था साना किसानलाई एकीकृत गरी बचत र ऋण लगानी गर्ने तथा कृषि उत्पादन बढाउन र बालीमा विविधता ल्याउने प्रयासमा केन्द्रीत भएको देखिन्छ । किसानको जीवनस्तर उकास्न हरेक प्रयास र सम्भावनाको खोजीमा रहेको यो संस्थाका अध्यक्ष इन्द्रजीत चौधरीले बताए ।
कृषिको विकास र विस्तार विना मुलुकमा समृद्धि आउन नसक्ने र उत्पादनमा पनि आत्मनिर्भर बन्न नसक्ने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । अध्यक्ष चौधरीले खेतीपाती गर्न किसानलाई आवश्यक पर्ने कम्बाईन हार्डवेस्टर, सीड ह्वील, ५५ एचपीको ट्रयाक्टर, लेजर ल्याण्ड लेभरल, रिपर, रोटा भेटर, कल्टिभेटरजस्ता उपकरण उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि कृषिमा यान्त्रिकीकरण गर्ने सरकारको लक्ष्य रहेकाले सो उपकरण एवं मेसिनको आवश्यकता रहेको अध्यक्ष चौधरीले बताए । लगभग एक हजार २०० कृषक आबद्ध रहेको सो संस्थामा दुई हजारभन्दा बढी हेक्टर जग्गामा खेती गर्ने गरेका छन् । संस्थाले यहाँका किसानले उत्पादन गरेका धान सरकारले तोकेको समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्ने गरेका छन् ।
भण्डारण र यान्त्रिकीकरणका लागि संस्थाले सोही ठाउँमा चार कठ्ठा पाँच धुर जग्गा खरिद गरिसकेको छ । सरकारले तोकिएको समर्थन मूल्यमा संस्थाले किसानबाट गत वर्षमा १२ हजार क्वीन्टल धान खरिद गरेको थियो । संस्थाले विभिन्न बैंकमार्फत किसानलाई धानको खरिद मूल्य भुक्तानी गरेको थियो । ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सो संस्थालाई साना किसान सहकारी बैंकले परिपक्कताको प्रमाणपत्र तथा जिल्ला सहकारी सङ्घ सुनसरीले पुरस्कृत गरिएको छ ।
स्थानीय किसानको आवश्यकता र मागको आधारमा संस्थाले कूल रु चार करोड ७२ लाख बचत र रु आठ करोड ४५ लाख ऋण प्रवाह गरेको संस्थाका व्यवस्थापक पद्मबहादुर चौधरीले जानकारी दिए । बैंकको झन्झटिलो र प्रक्रियागत ढिलाईका कारण ऋण लिन समस्या भोगिरहेका किसानका लागि यो संस्था सहज भएको उहाँको भनाइ छ । “समस्यामा परेका बेलामा किसान ऋण लिन आउँछन्”, उनले भने, “किसानको आवश्यकता र मागका आधारमा संस्थाले ऋण अउपलब्ध गराउँदै आएको छ ।”
अन्य बैंकसँग ऋण लिएर पनि किसानको समस्या सम्बोधन गर्ने गरेको व्यवस्थापक चौधरीको भनाइ छ । छरिएर रहेका किसानलाई एकीकृत गर्न संस्था सफल भएकोमा उहाँले खुसी व्यक्त गरे ।
यहाँका किसान सीतागञ्ज शाखा नहर, चन्दा मोहन नहर, बोरिङ र आकाशे पानीको भरमा खेती गर्ने गरेका छन् । संस्थाले भण्डारण गर्न बनाउने गोदाम घरका लागि धेरै रकम चाहिने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ ।
प्रदेश नं १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिेनाले ग्रामीण क्षेत्रमा कृषकले गरेको मेहनत र प्रयासलाई परिणामुखी बनाउन कृषकको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।–रासस

 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार