पाटन औद्योगिक क्षेत्रमा भएको विस्फोटबारे छानबिन गर्न समिति गठन

बिहीबार, वैशाख ८, २०७९

काठमाडौँ, ८ वैशाख ।  ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा आज बिहान १० बजे उद्योगको फिलिङ प्लान्टमा विस्फोट भएको थियो । 
विस्फोट लगतै मन्त्री बडू, सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयका उच्च पदाधिकारीले तत्काल घटनास्थलमा पुगी घाइतेसँग भेटघाट गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै मृतकका परिवारका सदस्यसँग भेटघाट गरी समवेदना व्यक्त गरेका थिए । 
उद्योगमा भएको विस्फोटको कारण हुन गएको क्षतीका बारेमा जानकारी लिदै मन्त्री वडूले मृतकका परिवारलाई तत्काल राहत र घाइतेहरुको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउने बताएका थिए । 
उनले उद्योगले अक्सिजन आपूर्ति गरिरहेका निकायलाई अक्सिजन ग्यासको सहज आपूर्तिको निरन्तरताका लागि ग्यास उत्पादन सङ्घलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

प्लान्ट विष्फोटमा मृत्यु हुने दुई पुगे

ललितपुरस्थित औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटमा परी घाइते भएका मध्ये थप एक मजदुरको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार भारत घर भइ सोही प्लान्टमा काम गर्ने वर्ष २५ का राजकुमार महतोको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ । 
यसअघि विष्फोटमा परेर भारतकै ४५ वर्षीय वृजमोहन महत्तोको घटनास्थलमै मृत्यु भएको थियो । अन्य घाइते भएका पाँच जना पाटन अस्पतालमा उपचार पछि घर फर्किएका उहाँले जानकारी दिए। घटना बिहान १० ः ०५ बजे भएको हो । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको जनाइएको छ । 
गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घटनाको छानबिन गर्न निर्देशन दिएका थिए ।–रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार