सोसल मिडिया
Contact Us
युनिकोड
सिन्धुपाल्चोक, ३ वैशाख । सुनकोसी नदीमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो । आज दिउँसो २ बजे दोलखा शैलुङ गाउँपालिका–७ मञ्जित बस्ने, शिवहरि श्रेष्ठका छोरा डुबेर बेपत्ता भएका थिए । ५ बजे डुबेकै स्थानबाट निजको शव फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । यस्तै बिहान ७ बजेको समयमा मेलम्ची नगरपालिका–५ सिन्धुकोट भदौरे बस्ने ३९ वर्षीय श्याम मिजारले धारिलो हतियार प्रयोग गरी आफ्नै घाँटी काटेका छन् । मिजारलाई हँसियाको प्रयोग गरी आफ्नै घाँटी काटी छट्पटाइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई तत्कालै उपचारका लागि अस्पतालतर्फ पठाइएको र हाल गम्भीर घाइते भएका मिजारको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) मा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बस्नेतले जानकारी दिए ।
दुर्घनामा एकको मृत्यु
बाँकेको कोहलपुरमा आज दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ स्थित रत्नराजमार्गमा पर्ने सालको बुटानजिक भे२त ९३९ नंको ट्र्याक्टरले भे७प ५४४६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–४ निवासी ४० वर्र्षीय रेशम डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ३२ वर्र्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । मोटरसाइकललाई उछिनेर अगाडि बढ्ने क्रममा ट्र्याक्टरले ठक्कर दिएको थियो । ट्र्याक्टर र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए।–रासस