युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

शनिबार, वैशाख ३, २०७९

रुपन्देही, ३ वैशाख । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने  २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृतकका आफन्तले  माग गरेका छन् ।
बुटवल इलाका प्रहरी कार्यालयका अनुसार बुधबार राति खत्रीले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् । 
घरमा श्रीमानसँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवाई हत्या गरेको माइती पक्षको आरोप छ । मृतकका दाजु पुष्पक खत्रीले अमृताले बुधबार राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताए। म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृत्यु भएको खबर आएको गुनासो गर्दै उनले भने, “अमृताले आफैँ विष सेवन गरेकी होइनन् घरमा उनलाई मार्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन्, एकैछिनमा अस्पतालमा मृत्यु भयो भन्ने खबर आयो”, खत्रीले पत्रकारसँगको कुराकानीमा भने । 
घटनापछि प्रहरीले घटनास्थल तथा शवको  जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतकका श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपाविरुद्ध कर्तव्य ज्यान मुद्दामा गत बिहीबार मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराएका छन् । 
जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुँवरले बताए । मृतकका आफन्तले शुक्रबार पनि इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए ।

संयमत अपनाउन तिलोत्तमाको आग्रह

बुधबार राति अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले  विशेषरुपमा लिएको जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ । नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले आज एक विज्ञप्ति जारी गर्दै अमृताको मृत्युले तिलोत्तमा नगरपालिकाका पदाधिकारी स्तब्ध भएको बताए ।  उक्त घटनाको निष्पक्ष र विश्वसनीयरुपले छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन नगरपालिका तयार रहेकाले संयमता अपनाउन र विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरिएको बताइएको छ ।

घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा  कुनै  चोटपटक नदेखिएको जनाइएको छ । स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् ।  प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार