आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर 

शुक्रबार, फागुन २८, २०७७

नवलपुर ।  पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर शुरु भएको छ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको उपस्थिति रहनेछ । साथै उनीहरूका रोचक एवं वौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गर्नुका साथै पाठकसँग संवाद एवं अन्तक्र्रिया पनि गर्ने जनाइएको छ । कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम हुनेछन् । विशेष छुटमा पुस्तक बिक्री तथा प्रदर्शनीका साथै अन्य रचनात्मक कार्यक्रम पनि गरिने फाउण्डेसनका महाप्रबन्धक दामोदर भण्डारीले बताए ।  कार्यक्रमले पाठक एवं लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका सहभागिताका लागि शुल्क नलाग्ने उनले बताए । 
कार्यक्रममा सहभागी हुन चाहनेहरूलाई लक्षित गरी नवलपुरको कावासोती र चितवनको भरतपुरस्थित वीरेन्द्र क्याम्पस गेटबाट निःशुल्क यातायातको व्यवस्था गरिएको भण्डारीको भनाइ छ । निःशुल्क बस शुक्रबार दिउँसो एक बजेदेखि र शनिबार बिहान १० बजेदेखि प्रत्येक एक÷एक घण्टामा छुट्ने छ ।फाइनप्रिन्ट फिभरका अवसरमा सांसद गगन थापा, महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला र सञ्चारकर्मी रवि लामिछानेको समेत सहभागिता रहनेछ । उक्त अवसरमा ‘देशजगत्’ शीर्षकको कार्यक्रममा लेखक एवं उद्यमी जीवा लामिछानेसँग कांग्रेस नेता गगन थापाले संवाद गर्नेछन् । 
यसैगरी अभिनेत्री मनिषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन् । ‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवं नेता रवीन्द्र मिश्रसँग सञ्चारकर्मी रवि लामिछानेले छलफल गर्नेछन् । उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ विमोचन गर्ने कार्यक्रम पनि छ । ‘पुँजीवाद र स्वतन्त्र समाज’ नामक सत्रमा मुराहरी पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गर्नेछिन् ।साथै ‘धमिराहरू’ शीर्षक सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाउने छन् ।  यसैगरी ‘इन्द्रेणी’ शीर्षकको सत्रमा निरञ्जन कुँवरसँग उनको पुस्तक ‘बिट्विन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर प्रतीक्षा कट्टेलले संवाद गर्नेछिन् । ‘रहर’ कथासङ्ग्रहका लेखक सुरेश बडालसँग ‘रहरका रङ’ शीर्षक सत्रमा प्रकृति भट्टराई बस्नेतले संवाद गर्नेछिन् ।  फिभरका अवसरमा कवितासङ्ग्रह ‘क’का लेखक असीम सागरको कविता वाचन हुने पनि भण्डारीले जानकारी दिए । ‘अर्थनीति र राजनीति’ शीर्षक सत्रमा विनोद चौधरीसँग उमेश चौहानले कुराकानी गर्नेछन् । ‘किताब मनको साथी’ शीर्षक सत्रमा महानायक राजेश हमालले पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवं लगावबारे चर्चा गर्नेछन् । सर्वसाधारणमाझ उनी अध्ययनशील अभिनेताका रूपमा चिनिन्छन् । फिभरका अवसरमा उनले आफ्नो किताब पढ्ने बानी कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाउनेछन् । कार्यक्रमका अवसरमा ‘सेतो धरतीको एक दशक’ शीर्षक सत्र पनि रहनेछ । यसमा लेखक अमर न्यौपानेले पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया पाए, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पा¥यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राख्ने छन् । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करण लोकार्पण गर्ने कार्यक्रमसमेत छ ।–रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार