नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

सोमबार, चैत २१, २०७८

नेपालगन्ज, २१ चैत : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको छ । 

प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार