सर्लाही धन्कौलका आगलागी पीडितको विचल्ली, वर्षामा पालमुनि बस्नु पर्ने चिन्ता

सोमबार, चैत २१, २०७८

सर्लाही, २१ चैत । सर्लाहीको धन्कौलका १३ घर आगलागि पीडितहरुको विचल्ली भएको छ । एक साताअघि धन्कौल गाउँपालिका–५ हरकठवामा भएको भिषण आगलागीबाट १३ विपन्न परिवारकाे घरबार खरानी भएको थियो ।

आगलागीबाट घरबास गुमाएका उनीहरू अचेल त्रिपाल टागेर बसिरहेका छन् । चर्को घाममा दिनरात त्रिपालमुनि बस्नु पर्दा बालबालिका वृद्धवृद्धा र बिरामीलाई निकै मुस्किल हुने गरेको पीडितहरूको गुनासो छ । हावाहुरी र बर्षातको समेत समय भएकोले दिनदिनै चिन्ताले सताउन थालेको पीडित विकाउ पासवानले बताए । 

Avatar

आगलागी पीडित परिवारको लागि विभिन्न संघ संस्था, गाउँपालिका कार्यालय, जिल्लास्थित विपद् व्यवस्थापन समिति समेतको पहलमा त्रिपाल, खाध्यन्न, कम्बल, ग्याँस सिलिण्डर, चुलो, लत्ताकपडा र नगद ५-५ हजार रूपैयाँ वितरण गरिएकोे थियो । यस बाहेक कुनै व्यवस्थापन नभएको स्थानीयका भनाइ छ । उनीहरूले दैनिक ज्याला मजुदरी गरेर परिवार पाल्दै आएका थिए ।  

सहयोगी संस्था र गाउँपालिकाले दिएको एक थान त्रिपाल र केही खाध्यन्नको भरमा गुजारा गर्न निकै कष्ट भइरहेकाे पीडितहरूको दुखेसो छ । खाद्यन्न वा अन्य सहयोगभन्दा पनि टाउको लुकाउने सुरक्षित आवासको व्यवस्था गरिदिन उनीहरूले माग गरिरहेका छन् । विभिन्न ठाउँमा काम गर्ने राकेश साहले अब फेरि कमाएर घर बनाउने हिम्मत नभएको भन्दै राज्यले सहयोग गर्नु पर्ने माग गरे । फुसकै भए पनि राज्यले घर बनाइदिए ठुलो संकटमोचन हुने उनीहरूको भनाइ छ । 

Avatar

आगलागीपछि खुला आकाशमुनि आइपुगेकाे र भएको सबै अन्नपात, लत्ताकपडा र फुसको झोपडी समेत जलेर खरानी भएकाे लिलावती देवी पासवानले बताइन । स्थानीय अग्नी पीडित परिवारलाई सबैभन्दा धेरै बर्षातको समयमा आउने पानीले बिचल्लीमा पार्ने चिन्ता छ । पीडित रामनाथ पासवानले आफ्ना पाँच जना बालबालिकाकोे विचल्ली भएको गुनासो गरे ।

आगलागीबाट सोही स्थानका प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र महतोले बताए । आगलागी हरिवन नगरपालिका र मलंगवा नगरपालिकाबाट पुगेको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

Avatar

यता गाउँपालिका अध्यक्ष राम आश्रय साहले अग्नीपीडिहरूलाई खाद्यन्न र त्रिपाल वितरण गरेकाे बताए । पीडित परिवारलाई २५ किलोको दरले चामल दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, चुलो, भाडावर्तन प्रदान गरेको उनले बताए । पिडितलाई कम्बल र त्रिपाल समेत वितरण गरेकाे गाउँपालिकाले जनाएको हो । ‘घर खर्च भनेर जनही ५-५ हजारका दरले नगद समेत दिएका छौँ ।’ उनले भने, ‘योभन्दा थप गर्ने गाउँपालिकाको योजना छैन् ।'
 
यसैबीच विपद व्य्वस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले तत्कालिन ब्यवस्थापनको काम गरिएको दावी गरे । ‘घटनालगतै हामीले विभिन्न निकायसँगको सहकार्यमा केही राहत वितरण गरेका थियौँ ।’ प्रजिअ गौतमले भने, ‘त्यसबाहेक हामी सँग ठुलो कोष र वितरणको कार्यविधि हुँदैन्।’ बर्षातको समयमा नजिकिएकाले उनीहरूलाई बेलैमा सुरक्षित आवासमा फर्काउनु पर्ने उनकाे भनाइ छ । 

Avatar

यसको लागि प्रेदश सरकार अन्तर्गतकाे विपद व्यवस्थापन समितिसँग समेत पालिकाले पहल गर्न सक्ने प्रजिअ गौतमले बताए । 

Avatar

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार