विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ  : मन्त्री आले

शुक्रबार, चैत १८, २०७८

विराटनगर, १८ चैत  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका  छन्  । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए  । उनले भने , “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ,  भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।”

मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए  । विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए  । क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे  ।  
उनले भने , “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।” विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिए  । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार