मौवाफाँटमा खेलमैदान निर्माण सुरु

शुक्रबार, चैत १८, २०७८
Global Ime Bank

बेनी, १८ चैत  ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो । 

गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माणकार्य सुरु गरिएको क्लब अध्यक्ष बुद्धिबहादुर  खत्रीले बताए  ।

 उनका अनुसार खेलमैदानको लागि उपयुक्त जग्गा व्यवस्थापनमा कठिनाइ भएपछि गाउँहुँदै वर्षात्मा पानी बग्ने द्ववारेखोलालाई जमिनमुनिबाट बगाएर मैदान बनाउने काम सुरु गरिएको छ । खोलाको दायाँबायाँका जग्गाधनीले करिब रु ५० लाख बढी मूल्यपर्ने जग्गा निःशुल्क उपलब्ध गराएपछि खोलालाई जमिनमुनिबाट बग्ने प्रबन्ध मिलाएर खेलमैदान बनाउन सुरु गरिएको उनले जानकारी दिए  । 

पहिलो चरणमा मन्त्रालयबाट प्राप्त बजेटबाट खेलमैदानको लागि जग्गा सम्माउने काम सुरु गरिएको छ । लगत्तै खोला हुँदै बग्ने पानीलाई पक्की नाली बनाएर मैदानको मुनिहुँदै बग्ने पूर्वाधार निर्माण सुरु गरिने क्लबका सचिव थम बुद्धुजाले जानकारी दिए  । 

३० मिटर लाम्बाइ र २३ मिटर चौडाइको खेलमैदानमा प्याराफिटसमेत निर्माण गरिने क्लबले जनाएको छ । खेलमैदान निर्माणका लागि द्ववारेखालाको दायाँबायाँका जग्गाधनी यामकुमारी गर्बुजा, सरस्वती पौडेल, नवराज सुवेदी, मेषबहादुर खत्री, गोविन्दबहादुर खत्री, कृष्णलाल शर्मा र मधु सुवेदी लगायतले जग्गा उपलब्ध गराएको क्लबले जनाएको छ । 

‘‘खोलालाई पक्की संरचना बनाएर अण्डरग्राउण्ड गर्ने र माथि मैदान बनाउने काम निकै खर्चिलो छ, मन्त्रालयबाट आएको बजेटबाट मात्रै यो सम्भव छैन, हामीले देशविदेशमा रहेका सहयोगदातामार्फत सहयोग जुटाएर खेलमैदानलाई सम्पन्न गर्ने योजना बनाएका छौँ’’उनले भने  । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार