मछिन्द्रसँग खेल्न श्रीलंकाको ब्लु स्टार नेपाल आइपुग्यो

शुक्रबार, चैत १८, २०७८
Global Ime Bank

काठमाडौं, १७ चैत । एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । 

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच २२ चैतमा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । ब्लु स्टार क्लब अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएपछि मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका  थिए । 

यता, मछिन्द्र क्लब लिगको सातौं चरणको खेलमा शीर्षस्थानमा रहदै एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पहिलो पटक छनोट भएको थियो । यसअघि ७७ सालको लिग उपाधि जितेपछि मछिन्द्र एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न बंञ्चित भएको थियो ।  यो खेलको विजेताले दोस्रो चरणको खेलमा भारतको मोहन बगानको सामना गर्नेछ । यस खेलको विजेताले समूह चरणमा स्थान बनाउने छ ।

नवयुग श्रेष्ठ र विकास खवासको राष्ट्रिय टिममा पुनरागमन

नेपाल राष्ट्रिय फुटबल टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप-२०२३ छनोटका लागि २४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका हुन् । 

अब्दुल्लाहले त्रिभुवन आर्मी फुटबल क्लबका दुई खेलाडीलाई समेट्दै टोली प्रशिषणमा बोलाएका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहँदै आएका थिए । 

प्रशिक्षक अब्दुल्लाहले टिममा नयाँ खेलाडी भने कुनै पनि समावेश गरेका छैनन् । यस्तै जगजित श्रेष्ठ र आशिष लामा भने टोली बाहिर छन् । यसअघि टोलीमा डेब्यु गरेका सुदीप गुरुङ, आकाश बुढा मगर भने टोली बाहिर नै छन् । 

समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । सबै खेल कुवेतमा हुनेछन् । 

प्रशिक्षणमा डाकिएका २४ खेलाडीः

गोलरक्षकः किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, 
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट
स्ट्राईकरः विमल घर्ती मगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, 

दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सलाई

दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो ।

घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनायो । जितको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको देउखुरीले पहिलो पावर प्लेमा विकेट बचाउँदै राम्रो सुरुवात गरे पनि अन्तिम ओभरमा खेल्न नसक्दा हार व्यहोर्‍यो ।

देउखुरी वारियर्सका प्रज्वल थापाले ५१, आशिष् ओलीले ६, विशाल विक्रम केसीले २०, प्रतिष जिसीले ४, सन्देश पाण्डेले ५, मार्की खेलाडी नारायण जोशीले २१, अमित तामाङले ५, व्रिशभ सेन्चुरीले १, विषम थापाले ८ र करण घर्तीले १ रन बनाउँदै १ सय २७ रन बनाए । यस्तै, बलिङतर्फ घोराहीका रासिद खानले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । यस्तै, सिद्धान्त राज शाहीले पनि ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए  ।

यस्तै, अनुप न्यौपानेले ४ ओभरमा उत्कृष्ट बलिङ गर्दै केवल १५ रन दिँदै ४ विकेट लिए । रविन थापा, आवाज गौतम र रवीन्द्र जंग शाही भने विकेट विहीन रहे । टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

पहिलो पावर प्लेमा राम्रो सुरुवात गरेको घोराही टाइगर्सले मध्यक्रमका व्याट्स म्यान क्रिजमा टिक्न नसक्दा लगातार विकेट गुमाउँदै देउखुरी वारियर्सलाई मध्यम लक्ष्य दिएको थियो ।

घोराहीका लागि विराट भण्डारीले ३२, रवीन्द्र जंग शाहीले ९, सुशान्तसिंह थापाले १३, शिशिर डिसीले ६, सिद्धान्त राज शाहीले २, रविन थापाले १०, रासिद खानले ८, युवराज सुवेदीले १३, तुलबहादुर थापाले २० र अनुप न्यौपानेले ७ रनको योगदान दिँदै १ सय ३३ रन बनाए ।

बलिङतर्फ देउखुरी वारियर्सका अमित तामाङले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा नारायण जोशीले पनि ४ ओभरमा २५ रन दिएर समान ३ विकेट लिए । यस्तै, विशाल विक्रम केसीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिँदा आशिष् वलीले पनि ४ ओभरमा २ विकेट लिँदै २१ रन खर्चिए ।

चैत्र १२ गतेबाट सुरु भएको लिगमा ५ वटा फ्रेन्चाइज क्लबले अक्सन मार्फत खेलाडी किनबेच गरी लिगमा भाग लिएका थिए । उपाधि विजेता टिमले नगद २ लाखसहित ट्रफी उचाल्ने छ भने उपविजेता टिमले १ लाखसहित ट्रफी प्राप्त गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार