फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

बिहीबार, चैत १७, २०७८
Global Ime Bank

काठमाडौं, १७ चैत : नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । 

यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका सातौं स्थानमा छ । 

वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स छन् ।

वालिङविरुद्ध सावित्राको ह्याट्रिक

सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बिहीबार राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकालाई ७–० अन्तरले पराजित गरेको छ । 

चितवनको सारदानगरमा भएको खेलमा एपीएफलाई जिताउन सावित्राले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले समान एक/एक गोल गरे । 

एपीएफकी अनिता केसीले २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । ४०औं मिनेटमा सरु लिम्बुले टोलीलाई २–० को स्थितीमा पुर्‍याइन् । खेलको ५२औं र ६६औं मिनेटमा साम्बाले गोल गर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन् । 

खेलको ७४औं मिनेटमा अनिता बस्नेतले गोल गर्दा आर्मीले ५–० ले अघि बढ्यो । सावित्राले ८०औं ह्याट्रिक पुरा गरिन् भने ८१औं मिनेटमा व्यक्तिगत चौथो तथा टोलीको लागि सातौँ गोल गरिन् । 

लामो समयपछि खेलमा पुनरागमन गरेकी सावित्राले यस सिजनको महिला लिगमा पहिलो ह्याट्रिक गरेकी हुन् । गत संस्करणमा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा घुँडामा चोट लागेपछि उनी उपचार र आराममा व्यस्त थिइन् । सावित्राले गत संस्करणमा सात ह्याट्रिकसहित ३८ गोल गरेकी थिइन् ।

यो जितसँगै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको एपीएफले नौ अंक बनाएको छ  र शीर्षस्थानमा छ । समान खेल खेलेको वालिङ अंकविहीन छ ।

जारी दोस्रो खेलमा ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार